बागलुङ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरू सक्रिय हुनुपर्ने बताउनुभयो। केही सहकारी समस्यामा पर्दैमा सबै सहकारीलाई एउटै दृष्टिले हेर्न नहुने उहाँको भनाइ थियो।
उहाँले शेयर सदस्यहरूले सहकारीको गतिविधि र आर्थिक अवस्थाबारे समय–समयमा जानकारी लिने तथा साधारणसभामा प्रश्न र सुझाव राख्ने गरेमा सहकारी थप मजबुत बन्ने बताउनुभयो। सहकारीलाई राम्रो बनाउन सञ्चालक समितिसँगै शेयर सदस्यहरूको पनि महत्वपूर्ण भूमिका हुने उहाँले उल्लेख गर्नुभयो।
साधारणसभामा काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिमबहादुर कार्की, जिल्ला सहकारी संघ शिक्षा उपशाखाका सदस्य मुकुन्द शर्मा पौडेल, गुहेंली सञ्चार सहकारीका सल्लाहकार चन्द्रमणि उपाध्याय तथा ढोरपाटनन्यूजडटकमका सम्पादक रञ्जिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाले सहकारीका सचिव सूर्यबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई समेत सम्मान गरेको छ। उत्कृष्ट बचतकर्ताका रूपमा युक्तप्रसाद शर्मा, उत्कृष्ट ऋणी मिना परियार र उत्कृष्ट बाल बचतकर्ताका रूपमा रेखा थापालाई सम्मान गरिएको हो।
त्यस्तै, सहकारीका संस्थापक उपाध्यक्ष टीकाराम उपाध्यायले आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको कला गौरी स्मृति कोषबाट प्रदान गरिने २०८२ सालको पत्रकारिता पुरस्कार ढोरपाटनन्यूजडटकमका सम्पादक रञ्जिता शर्मालाई प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै शर्मालाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो। कोषबाट सहकारीका ज्येष्ठ शेयर सदस्य इकाराज शर्मालाई पनि सम्मान गरिएको छ।
साधारणसभामा सहकारीका संस्थापक सञ्चालक तथा गुहेंली सञ्चार सहकारीमा एकीकरण भएका सहकारीका संस्थापकहरूलाई समेत सम्मान गरिएको थियो। सहकारीको स्थापनादेखि सञ्चालनसम्म महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष खिमबहादुर कार्की, एकीकृत युनिक सञ्चार सहकारीका संस्थापक अध्यक्ष कृष्णमैया अधिकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायिक सहकारीका संस्थापक सचिव प्रजापति शर्मा र सक्षम बचत तथा ऋण सहकारीका संस्थापक सचिव प्रसाद थापालाई सम्मान गरिएको हो।
अध्यक्ष तारा केसी कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष गीता हमालले स्वागत मन्तव्य र सचिव सूर्यबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सहकारीको हाल शेयर पुँजी १ करोड २४ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सहकारीले ३७ लाख ३१ हजार ६ सय ५२ रुपैयाँ आम्दानी गरेको छ भने ३६ लाख २१ हजार ७ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ।
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा ३४ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीमा हाल ८ सय ८७ जना शेयर सदस्य रहेका छन्। भीमापोखरामा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ बजारमा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको छ। सहकारीले ‘जननिगरानी’ साप्ताहिक पत्रिका र ‘खबरवे’ अनलाइनसमेत सञ्चालन गर्दै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्