काठमाडौं । इरानविरुद्ध अमेरिकी सैन्य अभियानमा लामो समय खटिएको अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन थाइल्यान्ड पुगेको छ ।
२ सय ५० दिनभन्दा बढी निरन्तर समुद्रमा बिताएपछि विमानवाहक युद्धपोत बुधबार थाइल्यान्डको चोनबुरी प्रान्तस्थित लाम चाबाङ बन्दरगाहमा पुगेको हो । युद्धपोतमा करिब ५ हजार अमेरिकी नौसैनिक तथा मरीन छन् ।
अब्राहम लिंकनको लामो समयको तैनाथीलाई अमेरिकी नौसेनाको आधुनिक समयकै असाधारण लामो समुद्री अभियानका रूपमा हेरिएको छ । मध्यपूर्वमा लामो समयसम्म तैनाथ रहँदा जहाजमा रहेका सैनिकहरूको मानसिक स्वास्थ्य, खाद्यान्न तथा सरसफाइका सामग्रीको अवस्थाबारे समेत चिन्ता र रिपोर्टहरू सार्वजनिक भएका थिए ।
गत अगस्टमा यूएसएस अब्राहम लिंकनको स्थानमा यूएसएस जर्ज वासिङ्टनलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको थियो । त्यसपछि अब्राहम लिंकनलाई विश्राम तथा पुनःपूर्तिका लागि थाइल्यान्ड हुँदै अमेरिकातर्फ पठाइएको हो ।
लाम चाबाङमा केही दिनको बन्दोबस्ती तथा विश्रामपछि अमेरिकी सैनिकहरूलाई नजिकैको पर्यटकीय सहर पट्टायामा जाने अवसर दिइने भएको छ । थाइल्यान्डका अधिकारीहरूले सैनिकहरूको आवतजावत तथा सुरक्षाका लागि विशेष व्यवस्था गरेका छन् ।
करिब पाँच हजार अमेरिकी सैनिकको आगमनले पट्टायाको पर्यटन तथा स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
विश्राम र आवश्यक बन्दोबस्तीका सामग्रीको पुनःपूर्ति पूरा गरेपछि अब्राहम लिंकन अमेरिकातर्फ फर्किने तयारीमा छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्