काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा नगरी युक्रेन युद्ध अन्त्य गर्दा आफ्नो सत्ता र व्यक्तिगत सुरक्षामाथि नै खतरा उत्पन्न हुन सक्ने ठानेको एक अन्तर्राष्ट्रिय रिपोर्टले जनाएको छ।
द इकोनोमिस्टको हालैको रिपोर्टअनुसार पुटिनले युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न हिचकिचाउनुको एउटा प्रमुख कारण रुसभित्र त्यसलाई पराजय वा कमजोरीका रूपमा व्याख्या गरिने डर हो। क्रेमलिननिकट स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्टमा पुटिनले कुनै समय युद्ध अन्त्यपछिको सम्भावित परिणामबारे कुरा गर्दा “उनीहरूले मलाई झुन्ड्याउनेछन्” भनेको उल्लेख गरिएको छ।
यद्यपि, उक्त भनाइ कहिले र कुन सन्दर्भमा पुटिनले व्यक्त गरेका थिए भन्ने द इकोनोमिस्टले स्पष्ट गरेको छैन। त्यसैले पुटिनको व्यक्तिगत सोचसम्बन्धी यो विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने रिपोर्टहरूमा उल्लेख छ।
डोनबास किन पुटिनका लागि निर्णायक ?
युक्रेनको पूर्वी भागमा पर्ने डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई सामूहिक रूपमा डोनबास भनिन्छ। रुसले यी क्षेत्रको ठूलो हिस्सा नियन्त्रणमा लिएको छ, तर युक्रेनले अझै केही भूभाग नियन्त्रणमा राखेको छ।
रुसले डोनबासलाई आफ्नो युद्धको प्रमुख रणनीतिक लक्ष्यका रूपमा प्रस्तुत गर्दै आएको छ। पुटिनका लागि कम्तीमा सम्पूर्ण डोनबासमाथि नियन्त्रण कायम गर्नु युद्धबाट बाहिरिने क्रममा देखाउन सकिने न्यूनतम उपलब्धि भएको विश्लेषण गरिएको छ।
द इकोनोमिस्टका अनुसार रुसको राजनीतिक प्रणालीमा “कमजोरी देखाउनु” अत्यन्त जोखिमपूर्ण मानिने भएकाले पुटिनले आफूले युद्धबाट कुनै स्पष्ट जित हासिल नगरी सम्झौता गरेमा शक्तिशाली सुरक्षा तथा राजनीतिक समूहबाट दबाब बढ्न सक्ने ठानेका छन्।
रुसी अभिजात वर्गमा पनि असन्तुष्टि
रिपोर्टले रुसको आर्थिक तथा राजनीतिक अभिजात वर्गमा युद्धलाई लिएर निराशा बढिरहेको दाबी गरेको छ।
युद्धको आर्थिक लागत, स्रोतको निरन्तर खपत र करिब पाँच वर्ष लामो संघर्षबाट अपेक्षित परिणाम नआउनु नै अभिजात वर्गको मुख्य चिन्तामध्ये रहेको स्रोतहरूले बताएका छन्। केही विश्लेषणअनुसार समस्या केवल अर्थतन्त्र वा युद्धक्षेत्रमा प्राप्त सफलतासँग सम्बन्धित नभई युद्धमा खर्च भएको लामो समय पनि हो।
तर रुसमा देखिएका आर्थिक तथा राजनीतिक समस्या तत्काल पुटिनको सत्ताका लागि निर्णायक खतरा बनिसकेका छैनन्। उनीसँग युद्ध जारी राख्ने स्रोतसाधन र आन्तरिक दमनकारी संयन्त्र अझै रहेको रिपोर्टले उल्लेख गरेको छ।
शान्ति सम्झौताभन्दा युद्धलाई निरन्तरता दिन सजिलो ?
विश्लेषकहरूका अनुसार पुटिनले युद्ध रोक्दा सामना गर्नुपर्ने तत्काल राजनीतिक र आर्थिक दबाबलाई युद्ध जारी राख्दाको क्रमिक लागतभन्दा बढी जोखिमपूर्ण देख्न सक्छन्।
युद्धसँग जोडिएको रुसी अर्थतन्त्रमा रक्षा उद्योग, रोजगारी, क्षेत्रीय बजेट र सैनिक परिवारलाई जाने रकमजस्ता धेरै संरचना निर्भर बनेका छन्। युद्ध अचानक रोकिँदा सैनिकहरू घर फर्कने, रक्षा उद्योगमा माग घट्ने र रोजगारी तथा सामाजिक समस्याको जोखिम बढ्ने विश्लेषण पनि गरिएको छ।
यही कारण युद्ध रोक्ने निर्णयले तत्काल ठूलो राजनीतिक धक्का निम्त्याउन सक्ने रुससम्बन्धी विश्लेषकहरूको धारणा छ।
युद्ध अझ चर्किने संकेत ?द इकोनोमिस्टको रिपोर्टले पुटिन तत्काल युद्ध अन्त्य गर्नेभन्दा संघर्षलाई थप तीव्र बनाउने विकल्पतर्फ जान सक्ने सम्भावना औंल्याएको छ। यसमा युक्रेनमाथि थप क्षेप्यास्त्र तथा ड्रोन हमला, ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमण तथा युक्रेनका सहयोगी मुलुकविरुद्ध साइबर वा हाइब्रिड गतिविधि बढाउने सम्भावना समावेश छन्।
यसअघि पनि केही विश्लेषणले पुटिन युद्ध अन्त्य गर्नुभन्दा आफ्नो शासनले ‘विजय’का रूपमा प्रस्तुत गर्न सक्ने परिणाम हासिल गर्न खोजिरहेकोबताएका छन्। रुसले सम्पूर्ण डोनबास नियन्त्रण गर्न सके त्यसलाई युद्धको न्यूनतम उद्देश्य पूरा भएको रूपमा प्रस्तुत गर्न सक्ने उसको रणनीति हुनसक्ने उनीहरूको विश्लेषण छ। (
यसले युक्रेन युद्धको अन्त्य तत्काल सम्भव हुनेभन्दा युद्ध अझ लम्बिन सक्ने र थप सैन्य तनाव बढ्न सक्ने जोखिम देखाएको छ।
पुटिनका लागि अहिले प्रश्न केवल युक्रेनमा कति भूभाग नियन्त्रण गर्ने भन्ने मात्र नभई युद्ध अन्त्य गर्दा रुसभित्र आफूलाई कसरी प्रस्तुत गर्ने र त्यसको राजनीतिक मूल्य कति पर्ने भन्नेमा समेत केन्द्रित देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्