काठमाडौं । भोटेकोसी बाढीमा आफन्त बेपत्ता भएको आठ दिन बितिसक्दा पनि कुनै यथार्थ विवरण नपाएपछि रसुवा र नुवाकोटका केही परिवारले खोजीको प्रतीक्षा छाडेर अन्तिम संस्कारको प्रक्रिया अघि बढाउन थालेका छन्। बेपत्ता आफन्त जीवित भेटिने सम्भावना न्यून हुँदै गएको भन्दै उनीहरूले कुशको शव बनाएर काजकिरिया तथा अन्त्येष्टि गर्न थालेका हुन्।
भदौ १० गते आएको भोटेकोसी बाढीमा रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो। बाढीपछि धेरै मानिस सम्पर्कविहीन बने पनि अझैसम्म बेपत्ताको यकिन संख्या र अवस्थाबारे पूर्ण विवरण सार्वजनिक हुन सकेको छैन।
रसुवाका दुई वडा तथा नुवाकोटको विदुर नगरपालिकाका विभिन्न वडामा ठूलो संख्यामा मानिस बेपत्ता भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
वेत्रावतीमा मात्रै २४३ जना बेपत्ता
विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार वेत्रावती बजार क्षेत्रमा मात्रै २४३ जना बेपत्ता भएका छन्। बेपत्ताका परिवारले आठ दिनसम्म कुनै जानकारी नआएपछि अन्तिम संस्कार गर्ने तयारी थालेको उनले बताए।
उनका अनुसार वेत्रावतीमा रसुवाको समेत एउटा वडा पर्छ। बाढीमा एउटा विद्यालयसमेत बगेकाले त्यसमा रहेका करिब दुई सय विद्यार्थीको अवस्था अज्ञात रहेको उनले बताए। यसलाई समेत जोड्दा करिब २५३ जनाको अवस्था थाहा हुन नसकेको उनको भनाइ छ।
‘हराएका आफन्त जीवित भेट्ने सम्भावना न्यून हुँदै गएपछि परिवारले काजकिरिया गर्न थाल्नुभएको छ,’ नेपालले भने, ‘अन्तिम संस्कारका लागि राज्यबाट उपलब्ध हुने राहत रकमका विषयमा पनि मैले प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई जानकारी गराएको छु। आज आठ दिन भएकाले उहाँहरूले अन्त्येष्टि सुरु गर्नुभएको हो।’
वेत्रावतीमा बाढीबाट ३१४ घरमा क्षति पुगेको र करिब १ हजार २ सय परिवार विस्थापित भएको उनले बताए। भदौ १५ गते वेत्रावतीकै एउटा घरबाट २३ जनाको शव फेला परेको थियो।
तर शव भेटिन थाले पनि बाढीपछि हराइरहेका सबै व्यक्तिको विवरण भने अझै संकलन हुन सकेको छैन। बेपत्तामध्ये कतिपय अन्य जिल्लाबाट आएर भाडामा बस्नेहरू पनि रहेकाले उनीहरूको यकिन संख्या पत्ता लगाउन थप समय लाग्ने वडाध्यक्ष नेपालको भनाइ छ।
त्रिशूली र ढुङ्गेका ७२ जना बेपत्ता
विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितका अनुसार त्रिशूली र ढुङ्गे बजार क्षेत्रबाट मात्रै ७२ जना बाढीपछि बेपत्ता छन्। उनीहरूका परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।
‘त्रिशूली र ढुङ्गेबाट ७२ जना बेपत्ता हुनुहुन्छ। अब म आफैंले उहाँहरूका परिवारको अन्तिम संस्कारका लागि पहल थालेको छु,’ रञ्जितले भने।
उनका अनुसार भाडामा बसेका मानिस बेपत्ता भएको भन्दै तस्बिरसहित आफन्तहरू खोजीका लागि आउने क्रम जारी छ। तर उनीहरूको संख्या अझै यकिन हुन सकेको छैन।
बेपत्तामध्ये जोशी परिवारका सदस्यको संख्या धेरै रहेको उनले बताए। एउटै परिवारका पाँच जना, चार जना तथा दुई जनासम्म बेपत्ता भएको जानकारी आएको उनको भनाइ छ।
‘केही परिवारका सबै सदस्य नै बेपत्ता भएकाले अन्तिम संस्कार गर्ने मानिससमेत नहुन सक्छन्। त्यसैले केही दिन कुर्न र त्यसपछि सामूहिक रूपमा संस्कार गर्न भनेको छु,’ रञ्जितले भने।
उनका अनुसार बाढी आउँदा त्रिशूली र ढुङ्गे बजार क्षेत्रमा करिब २ हजार ७ सय मानिस रहेको अनुमान छ।
अन्य वडामा पनि काजकिरिया सुरु
बाढीबाट ठूलो क्षति पुगेको विदुर नगरपालिका–७ मा पनि बेपत्ता भएका व्यक्तिको खोजीमा परिवारले प्रतीक्षा छाडेर काजकिरिया सुरु गर्न थालेका छन्।
वडाध्यक्ष रविन्द्र नेपालका अनुसार वडाभित्रका तुप्चे, सोले, सेतीटार र अक्करे क्षेत्रमा गरी ६५ जना बेपत्ता भएको पुष्टि भएको छ।
‘तुप्चे, सोले, सेतीटार र अक्करेमा ६५ जना हराएको पुष्टि भएको छ। सोले र सेतीटारतिर एउटै परिवारका आठ जनासम्म हराइरहेका छन्,’ उनले भने।
सोलेका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य—आमा, बुबा, काका, काकी र बहिनी—समेत बाढीपछि बेपत्ता छन्। पौडेलले पनि आफन्तको खोजीको प्रतीक्षा लामो भएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्।
त्यस्तै, विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार बाढीबाट प्रभावित देवीघाट क्षेत्रबाट १८ जना बेपत्ता भएका छन्। तीमध्ये केहीका परिवारले पनि अन्तिम संस्कारको प्रक्रिया अघि बढाउन थालेका छन्।
भोटेकोसी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहे पनि आठ दिनसम्म कुनै जानकारी नआएका परिवारमा भने अब आशा क्रमशः कमजोर हुँदै गएको छ। लामो समयसम्म आफन्तको अवस्था थाहा नपाएपछि परिवारहरू बाध्य भएर अन्तिम संस्कारको प्रक्रियामा प्रवेश गर्न थालेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्