काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली सच्याउन संसद्बाट ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। प्रधानमन्त्री शाहले राजनीतिक दलहरूलाई बेवास्ता गरेको भन्दै प्रचण्डले आपत्ति जनाए। प्रधानमन्त्री सबैको साझा हुने भएकाले दलहरूप्रतिको बेवास्ता अन्त्य गर्न उनले आग्रह गरे। प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो। यस्तै, एमाले संसदीय दलका नेता बादलले प्रधानमन्त्री शाहको एकाङ्की शासन शैली परिवर्तन हुनुपर्ने बताए। सरकार संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजना तथा कामबारे प्रधानमन्त्रीले संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ थियो। विद्यमान संकटको सामना राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै बादलले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित बहुपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्