काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा भएको ड्रोन आक्रमणको असफल प्रयासपछि युरोपेली संघ (ईयू)ले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आयरल्यान्डमा आयोजित ईयूका विदेशमन्त्रीहरूको बैठकमा ईयूकी विदेश नीति प्रमुख काया कालासले रुसको सैन्य–औद्योगिक क्षेत्रसँग जोडिएका थप १ हजार ६ सय व्यक्ति तथा कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्ने तयारी भइरहेको जानकारी दिइन् । कालासले विमानस्थलमा भएको घटनालाई ‘राज्य–प्रायोजित आतंकवाद’को संज्ञा दिँदै ब्रसेल्सस्थित रुसी राजदूतलाई स्पष्टीकरणका लागि बोलाइएको बताइन् । गत अगस्ट ४ मा लाइपजिग–हाले विमानस्थलमा भएको आक्रमण प्रयासमा रुसको संलग्नता रहेको जर्मनीले सेप्टेम्बर १ मा औपचारिक आरोप लगाएको थियो । त्यसपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले नेटोका महासचिव मार्क रुटेसँगको छलफलपछि रुसमाथिको प्रतिबन्ध थप कडा पारिने बताएकी हुन् । रुसले भने जर्मनीका आरोप अस्वीकार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्मनीको कदमलाई गम्भीर भुल भन्दै प्रस्तुत गरिएका प्रमाण बनावटी भएको दाबी गरेका छन् । चान्सलर फ्रेडरिक मर्र्ज नेतृत्वको सरकारले आन्तरिक राजनीतिक स्वार्थका लागि यस्तो आरोप लगाएको उनको टिप्पणी छ । आयरल्यान्ड बैठकमा सहभागी ईयूका विदेशमन्त्रीहरूले जर्मनीप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन् । बैठकमा युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली तथा आर्थिक सहयोग निरन्तर उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । बैठकमा युक्रेनसँगै बेलायत, क्यानडा, नर्वे, आइसल्यान्ड र स्वीट्जरल्यान्डका विदेशमन्त्रीहरूको पनि सहभागिता रहेको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्