काठमाडौं । नेपाली कांग्रेसका स्थानीय जनप्रतिनिधिहरूले भोटेकोसी नदीमा आएको बाढीपछि उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्न खोजे पनि सरकारबाट अपेक्षित सहयोग र समन्वय नपाएको गुनासो गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग राहत तथा उद्धारमा केन्द्रित छलफल गरेको थियो। छलफलमा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले राष्ट्रिय संकटको सामना एकताबद्ध भएर गर्नुपर्ने नीतिअनुसार पार्टीले सरकारलाई सहयोग गर्दै आएको बताए। तर, अब सरकारलाई प्रश्न गर्ने अवस्था आएको उनको भनाइ थियो। रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्राविधिक रूपमा गर्नुपर्ने अवस्थामा सरकारले खेलवाड गरेको आरोप शर्माले लगाए। मन्त्रीहरू उद्धारभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाउँदै उनले यस्तो कार्यलाई मानवताविरुद्धको अपराधसरह भएको टिप्पणी गरे। शर्माले विपत्तिमा परेको एक स्थानीय तहले अर्को स्थानीय तहलाई सहयोग गर्ने भावना विकास गर्नुपर्ने भन्दै आपसी समन्वयमार्फत राहत तथा उद्धारलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे। छलफलमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला सभापतिहरूले पीडित तथा प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको जानकारी गराएका थिए। संघीय सरकारले स्थानीय सरकार तथा जनप्रतिनिधिलाई बेवास्ता गर्दै काम गर्न खोज्दा समस्या उत्पन्न भएको उनीहरूको भनाइ थियो। सहभागी जनप्रतिनिधिहरूले राहत सामग्रीको अभाव नरहे पनि पीडितसम्म सामग्री पुग्न नसकेको बताएका थिए। उनीहरूले राहत वितरणमा लागू गरिएको एकद्वार प्रणालीका कारण समस्या भएको गुनासो गरे। भदौ १० गतेको विपत्तिपछि सरकारले ठूलो काम गरेको जस्तो प्रचार–प्रसार गरे पनि प्रभावित क्षेत्रमा राज्यको उपस्थिति कमजोर देखिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव बंशलाल तामाङसहित रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र पार्टी प्रतिनिधिहरू सहभागी थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्