काठमाडौं । गत भदौ १० गतेको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा मोटरेबल पुलमा क्षति पुर्याएको छ । तीमध्ये ३५ वटा पुल पूर्ण रूपमा बगेका छन् ।
पुलसँगै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङसँगको सडक सम्पर्क प्रभावित भएको छ । त्रिशूली नदीका वारिपारि बस्ने स्थानीयबीचको आवतजावतसमेत विच्छेद भएको छ ।
बाढी आएको आठ दिनपछि सडक विभागले सडक सम्पर्क पुनःस्थापनाका लागि बगेका पुलका स्थानमा बेलिब्रिज जडान प्रक्रिया अघि बढाएको हो ।
विभागका महानिर्देशक विजय जैसीका अनुसार पहिलो चरणमा नुवाकोटका देवीघाट, त्रिशूली बजार र वेत्रावतीमा बेलिब्रिज जडान गर्ने योजना छ ।
तीमध्ये देवीघाटस्थित तादी खोलामा बेलिब्रिज जडानको प्रक्रिया सुरु भइसकेको छ । बेलिब्रिज जडानको काम नेपाली सेनामार्फत गरिने विभागको पुल महाशाखा प्रमुख ललिजन खनालले बताए ।
“गजुरीबाट उपकरण हिँडिसकेको छ । बिहीबार निर्माण सुरु गर्ने योजना थियो, शुक्रबारबाट सुरु हुन्छ,” खनालले भने ।
उनका अनुसार बेलिब्रिज जडान गर्न अधिकतम एक सातासम्म लाग्न सक्छ ।
विभागसँग सीमित बेलिब्रिज
आकस्मिक अवस्थामा सडक सम्पर्क पुनःस्थापना गर्न प्रयोग हुने बेलिब्रिज विभागसँग सीमित संख्यामा छन् । विभागसँग हाल ११ वटा बेलिब्रिज रहेको र अधिकांशको स्पान करिब ५० मिटर मात्रै रहेको महानिर्देशक जैसीले बताए ।
देवीघाटमा सडक सम्पर्क जोड्न ६० मिटर स्पानको बेलिब्रिज आवश्यक पर्ने भएकाले सेनाको सहयोग लिन लागिएको हो ।
जैसीका अनुसार सामान्यतया बेलिब्रिज ५० देखि ७० मिटर स्पानका हुन्छन् । विशेष अर्डरमा करिब ८० मिटरसम्मका बेलिब्रिज बनाउन सकिए पनि लामो स्पानका बेलिब्रिज सहज रूपमा उपलब्ध नहुने उनले बताए ।
“बेलिब्रिज भनेको इमर्जेन्सीमा हाल्ने हो । धेरै लामो स्पानका बेलिब्रिज संसारमै सहज रूपमा पाइँदैनन्,” जैसीले भने, “सामान्यतया ५०, ६० र ७० मिटरको रेन्जमा बेलिब्रिज बन्ने हो ।”
भारतबाट चार बेलिब्रिज आइपुगे
पछिल्लो समय नेपालले भारतबाट ७० मिटर स्पानका बेलिब्रिज प्राप्त गर्न थालेको विभागले जनाएको छ ।
भारत सरकारले गत वर्ष उपलब्ध गराउने प्रतिबद्धता जनाएको १० वटा बेलिब्रिजमध्ये चारवटा नेपाल आइसकेका छन् । बाँकी ६ वटा पनि आउने क्रममा रहेको जैसीले जानकारी दिए ।
चीन सरकारसँग पनि बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरिएको र त्यसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको विभागले जनाएको छ ।
रसुवा बाढीपछि सरकारले चीनसँग ३० र भारतसँग सातवटा बेलिब्रिज माग गरेको छ ।
२०० मिटरसम्मका पुल बगे
बाढीले न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्मका मोटरेबल पुल बगाएको छ । लामो स्पानका बेलिब्रिज पर्याप्त उपलब्ध नभएकाले सबै स्थानमा बेलिब्रिज राखेर तत्काल सडक सञ्चालन गर्न सम्भव नहुने विभागको भनाइ छ ।
बेलिब्रिज उपलब्ध हुँदैमा पुल बगेको स्थानमा तत्कालै जडान गरेर सडक सञ्चालन गर्न नसकिने महानिर्देशक जैसीले बताए । त्यसअघि फाउन्डेसन तथा सब–स्ट्रक्चर निर्माण गर्नुपर्ने हुन्छ ।
“बेलिब्रिज हुँदैमा उत्तिखेरै लगेर राख्न सकिने कुरा होइन । त्यसलाई राख्न फाउन्डेसन चाहिन्छ,” जैसीले भने, “ग्याबिन वा अन्य संरचना बनाएर त्यसलाई बलियो बनाउनुपर्छ । त्यत्रो गाडी गुड्दा संरचना दबिन भएन ।”
त्यसका लागि क्षतिग्रस्त पुलको अवस्था अध्ययन गरी आवश्यक स्थानमा बेलिब्रिज जडान गर्न विभागका प्राविधिक टोली फिल्डमै खटिएका छन् ।
वेत्रावतीमा उपकरण पुर्याउनै चुनौती
वेत्रावतीमा बेलिब्रिज जडान गर्न भने थप समय लाग्ने विभागले जनाएको छ । सडक सम्पर्क नै पूर्ण रूपमा विच्छेद भएकाले आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन समस्या रहेको छ ।
“वेत्रावतीसम्म गाडी पुग्न सकेको छैन । डेढ–दुई सय मिटर ग्याबिन म्याट राखेर इक्विपमेन्ट पुर्याउनुपर्नेछ । त्यसैले यसको समय दिन सकिएन,” प्रमुख खनालले भने, “सम्भव भएसँगै छिट्टै बेलिब्रिज जडान गर्ने लक्ष्य छ ।”
त्रिशूली क्षेत्रमा भने बेलिब्रिज जडान गर्न सम्भव नहुने विभागले जनाएको छ । त्यहाँ नदीको चौडाइ ठूलो भएकाले विभागसँग उपलब्ध बेलिब्रिजले धान्न सक्ने अवस्था छैन ।
“त्रिशूलीमा १२० मिटरसम्म पानी बगेको छ । हामीसँग त्यति लामो बेलिब्रिज छैन । झोलुङ्गे पुल हाल्ने सल्लाह भइरहेको छ,” खनालले भने ।
यसले रसुवा बाढीपछि क्षतिग्रस्त सडक र पुलको पुनःस्थापना तत्कालका लागि ठूलो चुनौती बनेको देखाएको छ । विभागले उपलब्ध बेलिब्रिज, वैकल्पिक संरचना र प्राविधिक जनशक्तिको प्रयोग गर्दै प्रभावित क्षेत्रको सडक सम्पर्क क्रमशः पुनःस्थापना गर्ने तयारी अघि बढाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्