भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चुनौती
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटमा घर, पुल र सडकसँगै किसानको जीविकोपार्जनको मुख्य आधार पशुधनमा समेत ठूलो क्षति पुर्याएको छ। बाढी गएको एक साता बितिसक्दा पनि प्रभावित किसान पशुधन गुमाएको पीडा र व्यवसाय पुनः सञ्चालन गर्ने चुनौतीमा छन्।
नेपाल भेटेरिनरी एसोसिएसनको छ सदस्यीय टोलीले एक सातासम्म प्रभावित क्षेत्रमा गरेको प्रारम्भिक अध्ययनअनुसार नुवाकोटमा पाँच सयभन्दा बढी भैँसी, एक हजार पाँच सय सुँगुर तथा बङ्गुर र करिब एक लाख ५० हजार कुखुरा बाढीले बगाएको छ।
एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार प्रभावित क्षेत्रमा पुग्दा धेरै ठाउँमा खाली गोठ र सुँगुरपालन फार्मका भग्नावशेष मात्रै भेटिएका थिए। व्यावसायिक रूपमा पालिएका हजारौँ कुखुरा रहेका फार्मसमेत माटो र ढुङ्गाको थुप्रोमा परिणत भएका छन्।
तीव्र वेगमा आएको बाढीले बगाएका अधिकांश पशुपन्छी जीवित उद्धार गर्न सम्भव नभएको टोलीको निष्कर्ष छ।
वर्षौंको लगानी केही घण्टामै सकियो
विदुर नगरपालिका र त्रिशूली आसपासका क्षेत्रमा धेरै किसानले ऋण लिएर व्यावसायिक पशुपालन गर्दै आएका थिए। उनीहरूका लागि पशुधन सम्पत्ति मात्र नभई परिवारको मुख्य आम्दानीको स्रोत थियो। तर केही घण्टाको बाढीले वर्षौंको मेहनत र लगानी एकैपटक समाप्त गरिदिएको छ।
गोठ, पशु र आम्दानीको स्रोत गुमाएका धेरै किसान अहिले राहत शिविर वा आफन्तको घरमा आश्रित छन्। यस्तो अवस्थामा तत्काल राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको भेटेरिनरी टोलीले जनाएको छ।
पुल बग्दा पशु उपचार सेवासमेत प्रभावित
त्रिशूली नदीमाथिका पुल बगाएपछि नदीपारिका बस्ती सम्पर्कविहीन बनेका छन्। त्यस क्षेत्रमा रहेका किसानले पशु उपचार सेवा पाउनसमेत कठिनाइ भोगिरहेका छन्।
त्यहाँ कार्यरत पशु चिकित्सक डा. सुजाता अधिकारीसँग किसानले उपचारका लागि सहयोग मागेपछि औषधि अभावबारे जानकारी भएको थियो। त्यसपछि नेपाल भेटेरिनरी एसोसिएसनले जोखिम मोलेर तुइनमार्फत अत्यावश्यक भेटेरिनरी औषधि नदीपारि पठाउने व्यवस्था मिलाएको थियो।
विपत्का बेला पशु स्वास्थ्य सेवासमेत अत्यावश्यक हुने तथ्य यस घटनाले देखाएको छ।
मृत पशुबाट रोग फैलिने जोखिम
बाढीमा ठूलो संख्यामा पशुपन्छी मरेपछि मृत पशुको व्यवस्थापन अर्को चुनौती बनेको छ। खुला स्थानमा छाडिएका पशुका शवबाट सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्।
दूषित पानी, दुर्गन्ध र रोगजन्य जीवाणुका कारण पशुमा मात्र नभई मानव स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले मृत पशुको सुरक्षित व्यवस्थापन तत्काल गर्नुपर्ने देखिएको छ।
राहतभन्दा पुनर्स्थापना चुनौतीपूर्ण
नेपाल भेटेरिनरी एसोसिएसनले नुवाकोटको पशुसेवा कार्यालयलाई औषधि तथा फिड सप्लिमेन्ट हस्तान्तरण गरेको छ। विदुर नगरपालिकामार्फत बाढीपीडितलाई खाद्यान्नलगायत राहत सामग्रीसमेत उपलब्ध गराइएको छ।
तर पशुधन गुमाएका किसानका लागि राहत मात्र पर्याप्त नहुने पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बताएका छन्। उनका अनुसार सहुलियत ऋण, अनुदानमा पशु वितरण, पशु बिमा दाबीको सहजीकरण, निःशुल्क पशु स्वास्थ्य सेवा र व्यवसाय पुनर्स्थापना कार्यक्रम आवश्यक छ।
पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न नसके पशुधन गुमाएका हजारौँ परिवार थप आर्थिक संकटमा पर्दै गरिबीको चक्रमा फस्न सक्ने जोखिम रहेको उनको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्