ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन राजपथ एकतर्फी भएपछि थाहाका किसान मारमा, खेतमै कुहिन थाल्यो तरकारी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ५५   बजे

मकवानपुर, भदौ १७ गते । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो आएपछि सडक अवरुद्ध भएसँगै त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा ल्याइएको छ। हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सडकमा सवारी चाप बढेपछि गरिएको यो व्यवस्थाले यात्रु आवागमन तथा खाद्यान्न र अत्यावश्यक वस्तुको ढुवानीमा केही सहजता ल्याए पनि मकवानपुरको उत्तरी क्षेत्रका किसान भने समस्यामा परेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी सञ्चालन गर्ने र काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीलाई कान्ति लोकपथ हुँदै पठाउने व्यवस्था गरेको छ। त्यससँगै पालुङलगायत उत्तरी क्षेत्रबाट हेटौँडातर्फ तरकारी बोकेर जाने सवारीसाधनसमेत रोकिँदा किसानले उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन्।

नेपाल तरकारी तथा फलफूल व्यवसायी सङ्घ उत्तरी क्षेत्र समितिका अध्यक्ष राजेन्द्र बिडारीका अनुसार थाहा नगर क्षेत्रमा उत्पादित तरकारी दैनिक करिब एक सय गाडीमार्फत बजारमा पठाइँदै आएको थियो। ती गाडीबाट दैनिक चार सयदेखि पाँच सय टनसम्म तरकारी पोखरा, हेटौँडा तथा तराईका विभिन्न जिल्लामा आपूर्ति हुँदै आएको उहाँले बताउनुभयो।

“यो तरकारी उत्पादन हुने मुख्य समय हो। किसानले उत्पादन गरेका तरकारी हेटौँडा हुँदै वीरगञ्ज, नारायणगढ, बुटवल, निजगढ र जनकपुरलगायतका सहरमा पुग्थे,” उहाँले भन्नुभयो, “अहिले बिक्रीयोग्य तरकारी खेतबारीमै थन्किएको छ। काठमाडौँको बजारमा मात्र पठाउँदा किसानको लगानीसमेत नउठ्ने अवस्था छ।”

तरकारी एक दिनमै बिग्रन थालेपछि किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आएको बिडारीले बताउनुभयो। धनियाँ समयमै बजार नपुग्दा कुहिने, काउली तथा भेडेखुर्सानीमा दाग लाग्नेलगायतका समस्या देखिन थालेको उहाँको भनाइ छ। वैकल्पिक व्यवस्था गर्न इलाका प्रहरी कार्यालय पालुङमा आग्रह गर्दा पनि समाधान ननिस्किएको उहाँले बताउनुभयो।

थाहा नगरपालिका–पालुङका किसान निरोज प्रधानले थाहामा उत्पादन हुने तरकारीको आधाभन्दा बढी बजार पोखरा, हेटौँडा र तराईका जिल्लामा रहेको बताउनुभयो। काठमाडौँको बजारमा मात्र निर्भर हुनुपर्दा उत्पादन लागतअनुसारको मूल्यसमेत नपाउने अवस्था रहेको उहाँले बताउनुभयो।

“यही अवस्था निरन्तर रह्यो भने तरकारी छिप्पिएर खेतबारीमै कुहिने अवस्था आउँछ। किसानको लगानी डुब्छ,” प्रधानले भन्नुभयो।

थाहा नगर क्षेत्रमा अहिले काउली, भेडेखुर्सानी, बन्दा, मुला, धनियाँ, माछेखुर्सानी, फर्सी र गोलभेडालगायतका तरकारी उत्पादन भइरहेको छ। नगर प्रमुख विष्णु विष्टले सडक एकतर्फी गरिएपछि नगर क्षेत्रमा उत्पादित तरकारी बजार पठाउन समस्या भएको बताउनुभयो। किसानको समस्याबारे प्रशासनलाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको उहाँको गुनासो छ।

नगर प्रमुख विष्टले विपद्का बेला सडक व्यवस्थापन आवश्यक भए पनि निर्णय गर्दा किसान, व्यवसायी र स्थानीय अर्थतन्त्रमा पर्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो। “विपद्को अवस्थामा सडक व्यवस्थापन आवश्यक छ, तर निर्णय गर्दा किसान, व्यवसायी र स्थानीय अर्थतन्त्र पनि हेर्नुपर्छ,” उहाँले भन्नुभयो।

थाहा क्षेत्रको तरकारी उत्पादन किसानको मात्र आम्दानीसँग नभई स्थानीय व्यापार, रोजगारी र समग्र अर्थतन्त्रसँग जोडिएको भन्दै व्यवसायीहरूले तत्काल वैकल्पिक ढुवानी व्यवस्था मिलाउन माग गरेका छन्। समस्या समाधान नभए आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने अध्यक्ष बिडारीले चेतावनी दिनुभएको छ।

पृथ्वी राजमार्गको कृष्णभीरमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग भइरहेको छ। यस मार्गबाट अत्यावश्यक वस्तु तथा इन्धन आपूर्ति सहज बनाउने प्रयास भइरहेको भए पनि त्यसको असर स्थानीय उत्पादनको ढुवानीमा परेको देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

पहिचान नखुलेका शव व्यवस्थापनबारे भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

हरवा–चरवाको अधिकार माग्दै मधेस भवन अगाडि एक सातादेखि धर्ना

भोटेकोसी बाढीपीडितलाई उद्धारपछि पनि भविष्यको चिन्ता

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu