काठमाडौं । नुवाकोटको विदुरस्थित तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान कार्य सुरु भएको छ। भदौ १० गते आएको बाढीले तादी खोलामाथिको पक्की पुल बगाएपछि आवागमन सहज बनाउन अस्थायी पुल जडान थालिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीले क्षतिग्रस्त बनाएको पुरानो पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न लागिएको हो। पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको छ भने जडानको काम पनि सेनाकै प्राविधिक टोलीले गरिरहेको छ।
बाढीबाट नुवाकोटका विभिन्न स्थानमा पुल तथा सडक पूर्वाधारमा क्षति पुगेपछि अत्यावश्यक आवागमन सञ्चालन गर्न अस्थायी पुल निर्माणलाई प्राथमिकता दिइएको छ। यसअघि नुवाकोटकै देवीघाटमा तादी नदीमाथि पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजको टोली परिचालन गरिएको थियो।
बाढीले क्षति पुर्याएका सडक तथा पुलहरू पुनः सञ्चालनमा ल्याउन अस्थायी संरचना निर्माण तथा मर्मतको काम अघि बढाइएको छ। तादी खोलाको पुल जडान सम्पन्न भएपछि त्यस क्षेत्रका स्थानीय तथा यात्रुलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।


Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्