कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको सडक खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्युभएको छ।
शनिबार बिहान करिब ११ बजेतिर खसेको पहिरोमा परी हाइड्रोपावरमा कार्यरत तीन जना कामदार घाइते भएका थिए। स्थानीयले उद्धार गरी उनीहरूलाई उपचारका लागि पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए।
उपचारका क्रममा चिकित्सकले धनकुटाको पाख्रिबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको कोपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईलाई दिउँसो करिब सवा १ बजे मृत घोषणा गरेका हुन्।
पहिरोमा परी घाइते इलामका ३२ वर्षीय भक्तबहादुर मगरको भने उपचार भइरहेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हाइड्रोपावरको बाटो निर्माणका क्रममा माथिबाट पहिरो खसेर कामदारलाई च्यापेको थियो। स्थानीयको सहयोगमा उद्धार गरी घाइतेहरूलाई अस्पताल पठाइएकोमा दुई जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको उनले जानकारी दिए।
घटनास्थल सार्दीखोलाबाट करिब १२ किलोमिटर पूर्वतर्फ पर्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्