काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट शनिबार जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएकी ६० वर्षीया चण्डिकालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बिहान पुरिएको घरबाट जीवितै उद्धार गरेको थियो।
तर, परिवारले भने उनलाई जीवित भेटिने आशा मारिसकेको थियो।
आठ दिनसम्म निरन्तर खोजी गर्दा पनि चण्डिकाको अवस्था पत्ता नलागेपछि परिवारले उनको कुशको शव बनाएर दाहसंस्कार गरिसकेको थियो। त्यसपछि छोराबुहारीले काजकिरियासमेत सुरु गरेका थिए।
चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार आठौँ दिनसम्म खोजी गर्दा पनि कुनै संकेत नपाएपछि परिवारले आपसी सल्लाहमा कुशको शव बनाएर गुह्येश्वरीमा दाहसंस्कार गरेको थियो।
‘आठौँ दिनसम्म पनि नपाएपछि काजकिरिया सुरु गरिएको थियो,’ श्रेष्ठले भने।
उनका अनुसार परिवारका सदस्यहरू लगातार चण्डिकाको खोजीमा थिए। तर, आठौँ दिनसम्म पनि कुनै संकेत नपाएपछि जीवित भेटिने आशा छाडेर अन्तिम संस्कार गरिएको थियो।
सानो भर्याङस्थित घरमै काजकिरिया सुरु गरिरहेका बेला चण्डिका जीवितै भेटिएपछि परिवारमा खुसी छाएको छ।
‘धेरै दिन खोजियो, अब पाइँदैन भनेर फर्किनुभयो। घरका मान्छेले सल्लाह गरेर कुशको शव बनाएर गुह्येश्वरीमा दाहसंस्कार गरियो। अनि काजकिरिया गरियो,’ श्रेष्ठले भने।
बाढी आएको ११औँ दिनमा भएको चण्डिकाको जीवित उद्धारले परिवार मात्र होइन, उद्धारमा खटिएका सुरक्षाकर्मीलाई समेत आश्चर्यचकित बनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्