काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएकाले उद्धार जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। आयोजनाको २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको सचिवालयले जनाएको छ।
म्यानुअल रूपमा मात्रै उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी गरिएको छ। त्यसका लागि स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँचमार्ग निर्माणको काम शनिबारदेखि सुरु गरिएको छ।
सुरुङबाटै एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर क्षेत्रमा जमेको माटो हटाउने काम भइरहेको छ।
ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयास भइरहेको सचिवालयले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो। कठिन भौगोलिक अवस्थाका बीच पनि उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्