काठमाडौं । नेपाली किक बक्सर **अविरल घिमिरे ‘हिमालयन चितुवा’**ले जापानको नागोयामा विश्व च्याम्पियन बक्सरलाई नकआउट गर्दै किक बक्सिङको अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्।
नागोयाको करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिपको मेन इभेन्टमा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै शानदार जित निकालेका हुन्।
चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन बक्सर हुन्।
प्रतिस्पर्धात्मक खेलमा घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै चोइनार्डलाई नकआउटमा पराजित गरेका हुन्।
विश्व च्याम्पियनलाई नकआउट गर्ने यो जितसँगै ‘हिमालयन चितुवा’ले अन्तर्राष्ट्रिय किक बक्सिङमा आफ्नो प्रभाव थप बलियो बनाएका छन्।
२९ अन्तर्राष्ट्रिय खेल, २१ जित
घिमिरेले हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। तीमध्ये उनले २१ खेलमा विजय हासिल गरेका छन्।
उनका २१ जितमध्ये २० खेल नकआउटमार्फत आएको बताइएको छ। यस उपलब्धिसँगै उनी नकआउट जितका हिसाबले विशिष्ट नेपाली किक बक्सरका रूपमा स्थापित भएका छन्।
घिमिरेको आक्रामक खेलशैली र नकआउट क्षमताले उनलाई अन्तर्राष्ट्रिय किक बक्सिङमा ‘हिमालयन चितुवा’का रूपमा परिचित गराएको छ।
नेपालको गौरव र नेपाली खेलकुदको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउँदै आएका घिमिरेले पछिल्लो जितसँगै नेपाली खेलप्रेमीलाई अर्को खुसी दिएका छन्।
जितपछि भोटेकोसीका पीडित सम्झिए
ऐतिहासिक जितपछि घिमिरेले आफ्नो व्यक्तिगत सफलतालाई मात्र केन्द्रमा राखेनन्।
रसुवाको भोटेकोसी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले बाढीपीडितलाई सहयोग गर्ने जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय रिङमा देशको नाम उँचो बनाउँदै आएका घिमिरेको यो प्रतिबद्धताले खेलकुदसँगै सामाजिक उत्तरदायित्वको भावनासमेत देखाएको छ।
विश्व च्याम्पियनलाई नकआउट गर्दै प्राप्त यो जित नेपाली किक बक्सिङका लागि मात्र होइन, अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपालको उपस्थिति र सम्भावनाको अर्को बलियो प्रमाण बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्