नारायणगढ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि उपत्यकाबाहिरका उद्योगबाटै सिलिन्डर भरेर दैनिक औसत ३५ हजार सिलिन्डर काठमाडौँ पठाउन थालिएको छ।
कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यासका बुलेट काठमाडौँसम्म पुग्न नसक्ने अवस्था आएपछि नेपाल आयल निगमको अनुमति लिएर उद्योगीहरूले वैकल्पिक मार्गमार्फत सिलिन्डर ढुवानी सुरु गरेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार ग्यास अभाव कम गर्न चितवन, मकवानपुर, बारा, पर्सालगायतका जिल्लामा खाली सिलिन्डर ल्याएर ग्यास भरी काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ।
“हामीले बिहीबार २४ हजार, शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौँ पठाएका छौँ,” उहाँले भन्नुभयो, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ पुगेको छ।”
नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका सहज स्थानका उद्योगमा सिलिन्डर भरेर काठमाडौँ ल्याउन अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरिएको अध्यक्ष चन्दले बताउनुभयो।
यसका लागि काठमाडौँमा खाली भएका सिलिन्डर ट्रकमा राखेर सम्बन्धित उद्योगसम्म पुर्याइन्छ। उद्योगमा ग्यास भरेपछि त्यही ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै सिलिन्डर काठमाडौँ पठाउने गरिएको छ।
कुन–कुन ठाउँबाट आउँदैछ ग्यास ?
ग्यास उद्योग सङ्घका अनुसार चितवनमा नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यास उद्योगबाट सिलिन्डर भरिँदैछ। नवलपुरको गैँडाकोटमा जानकी र श्रीराम ग्यास उद्योगबाट ग्यास पठाइएको छ।
त्यस्तै बारा र पर्साका सीताश्री, श्रीमाया र लियो ग्यास उद्योगबाट तथा पर्सा र धनुषाका हिमाल र सगर ग्यास उद्योगबाट पनि सिलिन्डर भरेर काठमाडौँ पठाउने गरिएको छ।
मकवानपुरको हेटौँडामा रहेका एभरेस्ट र सुगम ग्यास उद्योगले समेत उपत्यकाका लागि सिलिन्डर भरेर पठाइरहेका छन्।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीले चितवनका उद्योगबाट ग्यास भरेर नियमित रूपमा काठमाडौँ पठाइरहेको बताउनुभयो।
“चितवनमा रहेका उद्योगबाट ग्यास भरेर सिलिन्डर काठमाडौँ पठाइएको छ,” उहाँले भन्नुभयो।
साल्ट ट्रेडिङले पनि निजी प्लान्टसँग सहकार्य गर्दै
सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि निजी ग्यास उद्योगका प्लान्ट प्रयोग गरेर आफ्ना ‘एसटिसी सिलिन्डर’ मा ग्यास बोटलिङ गरी काठमाडौँ पठाउन थालेको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा समेत असर परेको छ। बुलेट प्लान्टसम्म ल्याउन नसकिएपछि कर्पोरेसनले सहज स्थानमा रहेका निजी उद्योगसँग सहकार्य गरेर वैकल्पिक व्यवस्था मिलाएको हो।
कर्पोरेसनका अनुसार मनोज र बाबा ग्यासका प्लान्टमा आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका पठाइएको छ।
काठमाडौँको दैनिक खपत ४० हजार सिलिन्डर
सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको उद्योग सङ्घले जनाएको छ।
अहिले सडक अवरोधका कारण नियमित आपूर्ति प्रभावित भए पनि वैकल्पिक व्यवस्थामार्फत मागअनुसार ग्यास काठमाडौँ पुर्याउन सकिने अध्यक्ष चन्दले बताउनुभयो।
यसरी हेर्दा अहिले बाहिरका उद्योगबाटै दैनिक ३५ हजार सिलिन्डरसम्म काठमाडौँ पुर्याउने व्यवस्था मिलाइएको छ, जुन सामान्य दैनिक खपतको ठूलो हिस्सा हो।
वैकल्पिक ढुवानीसँगै ग्यासको मूल्य बढ्यो
नेपाल आयल निगमले वैकल्पिक रूपमा अन्य स्थानमा ग्यास भरेर काठमाडौँ लैजान अनुमति दिएसँगै त्यस्ता सिलिन्डरको बिक्री मूल्य पनि बढाउन स्वीकृति दिएको छ।
निगमले भरेर ल्याइएको सिलिन्डरमा साबिकको मूल्यभन्दा १०५ रुपैयाँ ३८ पैसा थप गरी बिक्री गर्न अनुमति दिएको हो।
साबिकमा प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको ग्यासको मूल्य अहिले २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
पृथ्वी राजमार्गको अवरोध कहिलेसम्म रहन्छ भन्ने अनिश्चितताबीच वैकल्पिक मार्गबाट ग्यास आपूर्ति थालिएपछि काठमाडौँमा देखिएको अभाव कम हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्