ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको असर सेयर बजारमा : चार जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाए १७ अर्बभन्दा बढी


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ५ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको प्रत्यक्ष असर जलविद्युत् आयोजनामा मात्र परेको छैन, त्यसको प्रभाव धितोपत्रको दोस्रो बजारसम्म देखिन थालेको छ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीको सेयर मूल्यमा लगातार गिरावट आएपछि लगानीकर्ताको ठूलो पुँजी घटेको छ। बाढीबाट प्रभावित ११ जलविद्युत् कम्पनीमध्ये त्रिशूली जलविद्युत्, रसुवागढी हाइड्रोपावर, चिलिमे जलविद्युत् र मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ।

बाढी आएको दिन नै यी कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो। त्यसपछि पनि केही दिन मूल्य घट्ने क्रम जारी रह्यो। यसले प्राकृतिक विपद्ले कम्पनीको भौतिक सम्पत्तिमा मात्रै नभई लगानीकर्ताको मनोविज्ञान र सेयर बजारको मूल्यांकनमा समेत तत्काल प्रभाव पार्न सक्ने देखाएको छ।

त्रिशूली जलविद्युत् : बजार पुँजीकरणमै ठूलो गिरावट

वि.सं. २०४८ सालमा स्थापित त्रिशूली जलविद्युत् कम्पनी ३७.३ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रवर्द्धक हो।

भोटेकोसी बाढीले आयोजनामा क्षति पुर्‍याएपछि कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।

भदौ १० गते प्रतिकित्ता ४४८ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर सोही दिन १२.९५ प्रतिशतले घट्यो। त्यसपछि लगातार चार कारोबार दिन मूल्य घट्दै भदौ १५ मा प्रतिकित्ता ३०१ रुपैयाँसम्म पुगेको थियो।

बुधबार र बिहीबार समग्र बजारमा सुधार देखिएसँगै कम्पनीको सेयर मूल्यमा पनि सामान्य वृद्धि देखियो। तर बाढीअघिको तुलनामा बिहीबारसम्म कम्पनीको सेयर मूल्य करिब २६.३३ प्रतिशतले घटेको छ।

मूल्य घटेसँगै कम्पनीका लगानीकर्ताले करिब २ अर्ब १८ करोड रुपैयाँ बराबरको बजार पुँजी गुमाएका छन्।

बाढीअघि कम्पनीको बजार पुँजीकरण ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रहेकामा अहिले घटेर करिब ६ अर्ब ११ करोड रुपैयाँमा आएको छ।

रसुवागढी हाइड्रोपावर : ६ दिनमा २४.७८ प्रतिशत गिरावट

बाढीबाट प्रभावित अर्को कम्पनी रसुवागढी हाइड्रोपावर हो।

बाढी आएको दिन नै कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो। त्यसपछि पनि केही कारोबार दिन मूल्यमा निरन्तर दबाब देखियो।

बाढीअघि प्रतिकित्ता २३० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य ६ कारोबार दिनमा घटेर १७३ रुपैयाँमा झरेको छ। यस अवधिमा प्रतिकित्ता ५७ रुपैयाँको गिरावट आएको छ।

कम्पनीको सेयर मूल्यमा आएको गिरावट करिब २४.७८ प्रतिशत रहेको छ।

यस अवधिमा रसुवागढीका लगानीकर्ताले करिब ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको पुँजी गुमाएको तथ्यांकले देखाउँछ।

चिलिमेमा लगानीकर्ताको करिब १० अर्ब गुम्यो

भोटेकोसी बाढीको असर परेको अर्को प्रमुख कम्पनी चिलिमे जलविद्युत् हो।

बाढीपछिका ६ कारोबार दिनमध्ये चार दिन कम्पनीको सेयर मूल्य घटेको थियो। बाँकी दुई दिन भने मूल्यमा सामान्य सुधार देखिएको थियो।

भदौ १० गते प्रतिकित्ता ४७५ रुपैयाँमा कारोबार भएको चिलिमेको सेयर मूल्य घटेर बिहीबारसम्म ३७० रुपैयाँमा आइपुगेको छ।

अर्थात् यस अवधिमा प्रतिकित्ता १०५ रुपैयाँको गिरावट आएको छ।

सेयर मूल्यमा आएको यही गिरावटका कारण चिलिमेका लगानीकर्ताले करिब ९ अर्ब ९४ करोड रुपैयाँ बराबरको बजार पुँजी गुमाएका छन्।

चार कम्पनीमध्ये रकमका आधारमा सबैभन्दा ठूलो बजार पुँजी क्षति चिलिमेका लगानीकर्ताले व्यहोरेका छन्।

मैलुङ खोलामा पनि २४.७८ प्रतिशत गिरावट

बाढीबाट प्रभावित मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि तीव्र गिरावट आएको छ।

भदौ १० गते प्रतिकित्ता ४८७ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य घट्दै भदौ १८ गते २९० रुपैयाँमा झरेको छ।

पछिल्ला ६ कारोबार दिनमा कम्पनीको सेयर मूल्य करिब २४.७८ प्रतिशतले घटेको छ।

यसबाट कम्पनीका लगानीकर्ताले करिब ७४ करोड रुपैयाँ बराबरको बजार पुँजी गुमाएका छन्।

यसरी चारवटै कम्पनीमा आएको मूल्य गिरावटले प्राकृतिक विपद् र पूर्वाधारमा भएको क्षतिको प्रभाव सेयर बजारमा कति छिटो प्रतिबिम्बित हुन सक्छ भन्ने देखाएको छ।

चार कम्पनीका लगानीकर्ताको ठूलो पुँजी क्षति

भोटेकोसी बाढीपछि यी चार कम्पनीको सेयर मूल्यमा आएको गिरावट जोड्दा लगानीकर्ताले १७ अर्ब रुपैयाँभन्दा बढी बजार पुँजी गुमाएका छन्।

कम्पनी बाढीअघि मूल्य पछिल्लो मूल्य गिरावट पुँजी क्षति
त्रिशूली जलविद्युत् रु. ४४८ रु. ३०१ आसपास २६.३३% रु. २.१८ अर्ब
रसुवागढी हाइड्रोपावर रु. २३० रु. १७३ २४.७८% रु. ३.८९ अर्ब
चिलिमे जलविद्युत् रु. ४७५ रु. ३७० रु. १०५ रु. ९.९४ अर्ब
मैलुङ खोला जलविद्युत् रु. ४८७ रु. २९० २४.७८% रु. ०.७४ अर्ब

चार कम्पनीको क्षति जोड्दा करिब १७ अर्ब रुपैयाँभन्दा बढी बजार पुँजी घटेको देखिन्छ।

बाढीपछि नेप्सेमा पनि प्रारम्भिक दबाब

भोटेकोसी बाढीको प्रभाव प्रभावित कम्पनीहरूमा मात्रै सीमित रहेन। बाढीपछि समग्र सेयर बजारमा पनि प्रारम्भिक दबाब देखिएको थियो।

बाढी आएको भदौ १० गते नेप्से परिसूचक ३५.९२ अंकले घटेको थियो। त्यसको भोलिपल्ट भदौ ११ गते पनि परिसूचक १.०४ अंकले घट्यो।

भदौ १२ गते नेप्सेमा पुनः ठूलो गिरावट देखियो र परिसूचक ४३.९२ अंकले घट्यो।

तर त्यसपछि बजारमा क्रमशः सुधार देखिन थाल्यो। पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक क्रमशः ९.२४, १५.४४ र ४.६६ अंकले बढेकोतथ्यांक छ।

यसले बाढीबाट प्रत्यक्ष प्रभावित कम्पनीको सेयरमा मूल्य दबाब कायम रहे पनि समग्र बजार भने प्रारम्भिक झट्काबाट क्रमशः सम्हालिन थालेको संकेत गर्छ।

लगानीकर्ताको मनोविज्ञान : डरदेखि संयमतातर्फ

सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगानाका अनुसार प्राकृतिक विपद्का बेला लगानीकर्ताको मनोविज्ञानले सेयर मूल्यमा तत्काल ठूलो प्रभाव पार्न सक्छ।

आयोजनामा क्षति पुगेपछि उत्पादन बन्द हुने, कम्पनीले ऋण तिर्न नसक्ने र कम्पनीको वित्तीय अवस्था कमजोर हुने डर लगानीकर्तामा पैदा हुने उनको भनाइ छ।

“जलविद्युत् आयोजना बग्यो भने उत्पादन बन्द हुने, ऋण तिर्न नसक्ने र कम्पनी डुब्ने डर पैदा हुन्छ,” ढुंगाना भन्छन्, “बिमा कम्पनीका लगानीकर्ताले पनि ठूलो दाबीका कारण नाफा घट्ने आशंका गर्छन्। त्यसैले धेरैले हतारमा सेयर बिक्री गर्छन्।”

उनका अनुसार प्राकृतिक विपद्का बेला सामान्य र अनुभवी लगानीकर्ताको व्यवहारमा समेत फरक देखिन्छ।

अनुभवी तथा संस्थागत लगानीकर्ताले आयोजनाको वास्तविक क्षति, बिमाले व्यहोर्ने हिस्सा, पुनर्बिमाको सुरक्षा, आयोजना पुनः सञ्चालन हुन सक्ने सम्भावना तथा बजार मूल्यमा जोखिमभन्दा बढी छुट दिइएको छ कि छैन भन्ने विषयलाई विश्लेषण गर्ने गर्छन्।

सुरुमा ‘आत्तिएर बिक्री’, पछि खरिदतर्फ आकर्षण

बाढी आएको दिन र त्यसको भोलिपल्ट प्रभावित कम्पनीका सेयरमा बिक्री चाप बढी देखिएको थियो।

आयोजनामा भएको क्षतिको समाचारसँगै लगानीकर्ताले तत्काल जोखिम मूल्यांकन गर्न नसक्दा ठूलो संख्यामा बिक्रीतर्फ गएको देखिन्छ।

तर त्यसपछिका कारोबार दिनमा अवस्था केही परिवर्तन भयो। प्रभावित कम्पनीको सेयर बिक्रीमा सुरुको जस्तो चाप देखिएन र बजारमा खरिदकर्ता पनि क्रमशः सक्रिय हुन थाले।

साताको अन्त्यतिरको कारोबारले प्रारम्भिक त्रास केही कम हुँदै गएको संकेत गरेको छ।

यसको अर्थ लगानीकर्ताले आयोजनाको क्षतिलाई मात्रै आधार बनाएर निर्णय गर्नुको सट्टा बिमा, पुनर्निर्माण, आयोजना पुनः सञ्चालन, कम्पनीको ऋण दायित्व र वास्तविक वित्तीय क्षतिजस्ता विषयलाई समेत हेर्न थालेका छन्।

भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् कम्पनीको सेयर मूल्यमा आएको गिरावट तत्कालीन बजार प्रतिक्रियामात्रै हो वा कम्पनीको वास्तविक वित्तीय क्षतिको प्रतिबिम्ब हो भन्ने प्रश्न अब महत्वपूर्ण बनेको छ।

आयोजनाको क्षति कति भयो, बिमा दाबीबाट कति रकम प्राप्त हुन्छ, पुनर्निर्माणमा कति समय र लागत लाग्छ, उत्पादन कहिले पुनः सुरु हुन्छ र कम्पनीको ऋण तथा वित्तीय दायित्वमा कस्तो असर पर्छ भन्ने विषयले आगामी दिनमा सेयर मूल्यको दिशा निर्धारण गर्नेछ।

त्यसैले अहिलेको मूल्य गिरावटलाई मात्र आधार बनाएर कम्पनीको दीर्घकालीन अवस्था निष्कर्ष निकाल्नुभन्दा आयोजनाको वास्तविक क्षति र कम्पनीको वित्तीय विवरण सार्वजनिक भएपछि मात्रै जोखिमको पूर्ण मूल्यांकन गर्न सकिने अवस्था देखिन्छ।

भोटेकोसी बाढीले जलविद्युत् पूर्वाधारमा पुर्‍याएको क्षतिको विवरण विस्तारै बाहिरिँदै गर्दा त्यसको असर कम्पनीको वित्तीय स्वास्थ्य हुँदै सेयर बजारमा कति लामो समयसम्म रहन्छ भन्ने विषय अब लगानीकर्ताको मुख्य चासो बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ’ :संविधानविद् अधिकारी

ओलीको एआई तस्बिर बनाएर भ्रामक सामग्री फैलाएको भन्दै एमालेको आपत्ति

सम्बन्धित

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि मतदान जारी

सुनको भाउमा फेरि गिरावट, तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

महाविपत्तिमा नेपाली मन : सहयोगको यो भावना जोगाऔँ

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा

फालिएका टायरबाट इन्धन : फोहोरलाई उद्योगमा बदल्दै रुपन्देहीका उद्योगी

डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu