काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित दर्ता गरेको छ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको रोमाञ्चक खेलमा अन्नपूर्णले काठमाडौं किंग्सलाई ३–० को सोझो सेटमापराजित गरेको हो।
अन्नपूर्णले तीनवटै सेटमा कडा प्रतिस्पर्धाबीच जित निकाल्यो। उसले पहिलो सेट २५–२३, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो।
पहिलो जितसँगै अन्नपूर्णले दुई खेलबाट ३ अंक जोडेको छ। काठमाडौं किंग्सले भने समान दुई खेलबाट २ अंक हासिल गरेको छ।
यसअघि पहिलो खेलमा काठमाडौं किंग्सले मधेस वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको थियो। अन्नपूर्ण भने कर्णाली शिवराजसँग ३–१ को सेटमा पराजित भएको थियो।
अब अन्नपूर्णले सोमबार मधेस वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ भने काठमाडौं किंग्सले मंगलबार सगरमाथा स्म्यासर्सको सामना गर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्