काठमाडौँ, ८ वैशाख । नेकपा एमाले र माओवादी केन्द्र वीच वैशाख ९ गते औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताले चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।
वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिने छन् ।
भोली आइतवार पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । “एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनुहुनेछ ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक\पटक जनाउँदै आएका छन् ।
पार्टी एकताको लागि दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो । यसलाई अन्तिम रुप दिन दिनहु दुई नेता विच छलफल भई रहको छ ।
प्रतिक्रिया दिनुहोस्