काठमाण्डौं, ९ वैशाख । संघीय संसद सचिवालयले काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन भनिएको छ ।
सचिवालयले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलव्ध गराउने ऐनमा व्यवस्था छ । यद्यपि, काठमाण्डौमा घर भएका सांसदहरुले समेत सो रकम लिएको विवरण संचारमाध्यममा सार्वजनिक भएपछि घर हुने सांसदको विवरण मागिएको हो ।
संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाब मिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुबिधा नपाउने सचिवालयका अधिकारीले बताए ।
काठमाडौमा घर हुने सांसदलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलव्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउनेछन् । काठमाण्डौमा सांसदका लागि १८ हजार रुपैयाँ घरभाडा भने पर्याप्त नरहेको गुनासो घर नहुने सांसदहरुको छ ।
आफ्नो निजी आवास भएर पनि आवास सुविधा लिनु गैरकानुनी हुने र भोलि घर हुँदाहुँदै डेरा भाडा लिएको सार्वजनिक भएमा असूलउपर समेत गर्नुपर्ने भएकाले यथार्थ विवरण पेश गर्न सचिवालयले आग्रह गरेको छ ।
राज्यले आवास सुबिधा बापत घर नै दिइरहेका सभामुखले पनि आवास सुबिधा बापत २८ हजार २७५ रुपैयाँ पाउँछन् । त्यस्तै राष्ट्रियसभा अध्यक्षले पनि सभामुखकै जति सुबिधा पाउँछन् ।
प्रतिनिधिसभामा विपक्षी दलको नेता, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षले आवास सुबिधा बापत २५ हजार ६०८ रुपैयाँ पाउँछन् । राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र मुख्य सचेतकले पनि २५ हजार रुपैयाँ नै पाउँछन् ।
विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिले आवास सुबिधा बापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ भने संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलका सचेतकले आवास सुबिधा बापत मासिक २४ हजार २६८ रुपैयाँ पाउँछन् ।
प्रतिक्रिया दिनुहोस्