काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा गम्भिर छलफल भएको छ।
करिब–करिब एकताका लागि सबै सहमति गरिसकेका दुई अध्यक्षको भेट नेता व्यवस्थापन र एकीकरण घोषणाको मिति र तयारीका विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।
२२ अप्रिल लेलिन जन्मजयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एकीकरण हुन सकेन । दुवै अध्यक्षले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको दिन एकता सहमति हुन सक्ने स्रोतले बताएको छ ।
एकता संयोजन समितिले अध्यक्षको हैसियतका विषयमा सहमति गर्न ‘अध्यक्षहरू’लाई नै जिम्मा लगाएर घोषणाको मिति तय गर्ने पनि जिम्मेबारी दिएका थिए । एकीकरण घोषणा मितिको सहमतिमा अध्यक्षद्वय पुगेका छन् ।
एकता संयोजन समितिले तयार पारेको दुई कार्यदल मध्ये एकका संयोजक नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार अब केही विषयमा पनि विवाद छैन । ‘सबै विवाद मिलिसक्यो, पार्टी एकता घोषणा हुनमात्र बाँकी हो । उपयुक्त समयको लेखाजोखा भइरहेको छ’, उनले चितवनमा भनेका थिए ।
लेलिन जयन्तीका दिन व्यानर र नामका विषयमा माओवादीले आपत्ति जनाएउँदा लामो समय कार्यक्रम सञ्चालन हुन सकेको थिएन । तर दुई अध्यक्षले मात्र सम्बोधन गरेको कार्यक्रममा प्रचण्डले ‘ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्ने’ बताउँदै कसैले थाहा नपाएको समयमा एकीकरण घोषणा हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्