काठमाडौं , १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसीवाद नभइ सरकार जनवाद ल्याउन लागेको बताउनुभएको छ । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्नुभएको हो ।
आज वैशाख १२ गते भूकम्पको सम्झनामा धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फाँसीवाद आउने खतरा भयो भनिन्छ । फाँसीवाद होइन, यहाँ जनवाद आउँदैछ । फाँसीवाद होइन समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’
उहाँले जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताउदै ‘अब नेपाली जनता बलियो हुन्छ, सत्ता बलियो हुने होइन । सत्ता त संविधानले नियन्त्रण गरेको हुन्छ,’
सरकार सबै जनताले लगाउन पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने वातावरण बनाउन लागिपरेको उहाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्