काठमाडौ, १३ वैशाख । गृहमन्त्री राम बहादुर थापा बादल आक्रमणबाट घाइते भएका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
मेयर श्रेष्ठ उपचारत नेपाल–कोरीया मैत्री अस्पताल, भक्तपुरमा पुगेर गृहमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
भेटका क्रममा गृहमन्त्रीले आक्रमणमा संलग्न भएको आशंकामा केही व्यक्ति पक्राउ परिसकेको र अन्यको खोजी भईरहेको बताए।
उनले आक्रमणप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोर्याउन नदिन गृह मन्त्रालय गम्भीर रहेको बताए। उनले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
गत शनिबार श्रेष्ठमाथि उनकै घरमा अज्ञात समूहले रड प्रहार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्