काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हन्नका घटनामा न्यायपालिकासमेत संलग्न रहेको बताएको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले निकालेको विज्ञप्तिमा २०७४ सालमा पत्रकारहरूबाट समाचारको स्रोत माग्ने, सञ्चारमाध्यममा आउने समाचारमा रोक लगाउन भएको प्रयत्नलगायत घटनामा न्यायपालिका समेत प्रेस स्वतन्त्रताप्रति अनुदार देखिएको बताइएको हो ।
संकटकालमा समेत नदेखिएका यस्ता घटना गएको वर्ष भएकाले प्रेस स्वतन्त्रताका हिमायतीलाई झस्काएको विज्ञप्तिमा उल्लेख छ । यस्तै पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा राज्य पक्ष बढी संलग्न रहेको बताएको छ । महासँघले २०७४ सालमा पत्रकार पक्राउ तथा निर्वाधरूपमा समाचार संकलनमा रोक लगाउने काम राज्य पक्षबाट बढी भएको पाइएको जनाएको हो ।
संघीयता कार्यान्वयनको वर्षका रुपमा रहेको गएको वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण पनि बनेको महासंघले बताएको छ । विभिन्न तहमा कानुन निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू राखिएकोमा महासंघले ध्यानाकर्षण भएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्