काठमाडौं, २१ वैशाख । २ वर्षदेखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।
यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि २ वर्षदेखि बन्दी जीवन विताईरहेका छन् ।
३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेका राईको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेलमा रहेका प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्