काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरको कार्यक्रम सकाएर काठमाडौं आइपुगेका छन्। जनकपुरमा आयोजित कार्यक्रम लम्बिएपछि उनी पूर्वनिर्धारित समयभन्दा करिब डेढ घन्टा ढिलो काठमाडौं आइपुगेका हुन्।
पूर्वनिर्धारित समयमा मोदी नआएपछि त्रिभुवन विमानस्थलगायत सडकमा समेत सवारी आवागमन अस्तव्यस्त बनेको थियो।
ट्राफिक प्रहरीले १२ बजेदेखि नै एयरपोर्टदेखि बौद्धस्थित हायात होटल सडक खण्ड खालि गर्न सुरु गरेको थियो।
कार्यतालिका अनुसार यँहाबाट उनी सोझै बौद्धस्थित हायात होटल पुगेर ‘लञ्च’ गर्नेछन् । त्यसपछि सैनिक मन्च टुँडिखेलमा दिइने ‘गार्ड अफ अनर’का लागि ४ ३० मा टुँडिखेल पुग्नेछन्।
मोदीले पौने पाँच बजे उपराष्ट्रपति नन्दकिशोर पुन र साढे पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सवा ६ बजे द्वार द्धारिकाज होटलमा कुटनितिक नियोगका अधिकारीसँग हुने भेटघाटमा सहभागी हुनेछन्। त्यहाँ नै उनले प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा अरुण तेस्रोको स्विच थिचेर शिलान्यास गर्नेछन्।
त्यहाँबाट पुन हायात होटल फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्