काठमाडौं, ३० बैशाख । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा यातायातका साधनमा आगजनी तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोडका साथै आगजनी समेत भएका गरेका हुन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ ।
सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए ।
यस्तै चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए ।
यस्तै विप्लव समूहले वीरगंजको वसपार्कमा १५ दिन देखी रोकिराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । काठमाडौमा भने बन्दको सामान्य प्रभाव परेको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्