काठमाडौँ,३० वैशाख । तस्करीको ३३ केजी सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएर नयाँ बानेश्वर र अनामनगर आसपासबाट लुटिएको भनिएको सुनको लगानीकर्ता भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल रहेको पाइएको छ । गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टमा बस्दै आएका थिए ।
छानविन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।
सुन तस्करी छानविन समितिका एक सदस्यका अनुसार सिल्भर सिटीस्थित अग्रवाल बस्दै आएको फ्ल्याटमा करिब दुई महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै अग्रवाल फरार भएका थिए ।
छानविन समितिले अग्रवालको घरमा काम गर्ने एक युवतीलाई बोलाएर सोधपुछ गरेको थाहा पाएसँगै अग्रवाल पत्नीसमेत फ्ल्याटमा ताला बन्द गरेर भारततिर लागेको बताइएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले समिति समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । ‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’– जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेखित भुजुङको बयानमा भनिएको छ– ‘उक्त सुनको कमिसन मैले पनि पाउँथे तर गत फागुन ९ गते थाई एयरलाइन्स हुँदै काठमाडौं आएको उक्त सुन लुटिएको कुरा डा. भन्ने छिरिङ वाङ्गेल घले मार्फत मैले थाहा पाएको हुँ ।’
प्रतिक्रिया दिनुहोस्