काठमाडौं, ३१ वैशाख । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।
उर्जामन्त्री पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने बताएका थिए । यहीअनुसार प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशानुसार काम भइरहेको छ ।
औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।
खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो । यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्