काठमाडौं, ३१ वैशाख । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरू भएको छ ।
स्थानीयबासीको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सूरु गरिएको हो। सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पूजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाएको छ ।३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माणका लागि करिब १९ करोड लाग्ने अनुमान गरिएको छ।
मन्त्री अधिकारीले स्थानीय स्तरबाट बन्ने भएकाले काष्ठमण्डपको पुनर्निर्माण सबैभन्दा राम्रो हुने विश्वास समेत व्यक्त गरे। उनले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनु अघि नै काठमाडौंका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि अघि सारे।
काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयलाई दिइएको छ। यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउन स्थानीय समितिहरुको समेत निर्माण गरिएको छ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंका सम्पदाहरूको पुनर्निर्माणको कामलाई सरकारले अब तीव्र गतिमा अघि बढाउन सुरू गरेको हो।
प्रतिक्रिया दिनुहोस्