काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक राखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार चार जनालाई स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले २ नम्बर प्रदेशका निमित्त मुख्यसचिव हरि फुयाँल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले जानकारी दिए।
मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुपभन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो? भनेर सोधेको छ।
ती अधिकृतहरुलाई मन्त्रालयले ‘के–कसरी र कसको लापारवाहीले फरक आकार र रुपको राष्ट्रिय झण्डा राखिएको हो ? तीनदिनभित्र लिखित जवाफ दिनुहोला।’ भनेर सोधेको छ।
मोदी भ्रमणको क्रममा जानकी मन्दिर परिसरमा राखिएको नेपाली झण्डाको आकार र प्रकार फरक भएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्