काठमाडौं, १ जेठ । भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।
स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरू र प्रदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइएको थिएन । प्रदेश २ को मन्त्रिपरिषद् बैठक नियमित रूपमा हप्तामा सोमबार र बिहीबार बस्ने गर्छ । तर त्यो हप्ता बिहीबार बैठक बस्न सकेन। पछिल्लो बैठक सोमबार बसेको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले बोल्ने भाषणबारे कुनै चर्चा नभएको राजपाबाट प्रदेश २ सरकारमा प्रतिनिधित्व गरेका एक मन्त्री बताउँछन्। उनी भन्छन्, ‘अभिनन्दन कार्यक्रममा उहाँले कस्तो बोल्नुहुन्छ, त्योबारे हामीलाई कुनै जानकारी थिएन।’
अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबुले भारतीय प्रधानमन्त्रीसामु संविधानविरूद्ध आफूहरूको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर एमाले, नेपाली कांग्रेस र माओवादीले विरोध गरेका छन् भने संघीय फोरम लालबाबु पक्षमा सशक्त रूपमा उभिएको छ।
फोरमका अधिकांश नेताले प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति स्वभाविक र जायज भएको बताएका छन्। फोरमका सांसद प्रदीप यादवले भने, ‘लालबाबुको पक्षमा हामी छौं। सिंगो पार्टी उभिएको छ। उहाँले जे बोल्नुभएको छ, एकदमै ठीक बोल्नुभएको छ।’ प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पनि मुख्यमन्त्रीको पक्षमा प्रतिक्रिया दिए। काठमाडौंमा भने राजपाका अधिकांश शीर्ष नेताहरू प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिबारे केही बोल्ने चाहेनन्। राजपाका अध्यक्षमण्डलका एक सदस्य अनिल झा भने मुख्यमन्त्रीको पक्षमा उभिए। उनले भने, ‘अभिनन्दन कार्यक्रममा लालबाबु राउतले बोलेको अभिव्यक्ति जायज छ।’ राजपाका दोस्रो तहका अधिकांश नेता पनि यस विषयमा बोल्न चाहन्नन्। लालबाबुको अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्