काठमाडौं, १ जेठ । सन् २००३ बाट सुरु भएको लोडसेडिङ् अन्ततः नेपाल विद्युत प्राधिकरणले वैशाख ३१ गतेदेखि समाप्त भएको घोषणा गरेको छ । कुनै समयमा १८ घण्टासम्म हुने गरेको लोडसेडिङ् २०७३ सालको लक्ष्मीपुजाबाट काठमाण्डौं लगायतका मुख्य शहरहरुबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ्को नेतृत्वमा हटेको थियो । यद्यपी औद्योगिक क्षेत्रमा भने तीन घण्टा लोडसेडिङ् कायम रहेको थियो जुन आइतबारबाट हटेर नेपाल पूर्णरुपमा लोडसेडिङ् मुक्त देश भएको छ ।
कुनै समय १८ घण्टासम्म लोडसेडिङ्को मार खेपेका नेपालीहरु अहिले त्यस अन्धकारको समय बाट बाहिर निस्किएका छन् । जसको मुख्य कारक बनेको छ, नेपाल विद्युत प्राधिकरणको कुशल व्यवस्थापन । व्यवस्थापन आफैमा जटिल कार्य हो, यसको जटिलतालाई चिर्न नसक्दा नेपाल लोडसेडिङ्को चपेटामा परेको थियो । तर दुई वर्ष अघि प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ आएपछि गरिएको व्यवस्थापले देश लोडसेडिङ अन्त्यको अवस्थामा आएको छ ।
भैरहेको विजुलीको लोड व्यवस्थापन, भारतबाट विजुली आयात र चुहावट रोक्नसक्दा अहिले देशैभर लोडसेडिङ समाप्त भएको बताउंछन् प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युत समस्या हट्दै गयो र अन्ततः नेपाल लोडसेडिङ मुक्त हुन पुग्यो । आइतबारबाट औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ् हटेपछि प्राधिकरणले लोडसेडिङ्मुक्त नेपालको घोषणा गरेको हो ।
त्यसो त, भार प्रेसण केन्द्रको निरिक्षणको क्रममा गत चैत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागुहुने गरि औद्योगिक क्षेत्रबाट लोडसेडिङ् अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुरुप लोडसेडिङ्को अन्त्य भएको घिसिङ्को भनाइ रहेको छ । नेपालको जलविद्युत उत्पादन, बैकल्पीक उर्जाको प्रयोग तथा भारतबाट आयात गरिएको विजुलीको माध्यमबाट अहिले लोडसेडिङ अन्त्य गर्न सम्भव भएको छ । अहिले नदीमा जलप्रवाह समेत बढ्दा विद्युत उत्पादन समेत बढेको छ ।
एक्काइसौ शताब्दीको युगमा अन्धकारमा बस्नु आफैमा लज्जास्पद विषय हो । जसबाट हामीले उन्मुक्ति पाइसकेका छौ । एक शताब्दी भन्दा अघि देखि सुरु भएको विद्युत उत्पादन प्रक्रियामा अहिलेसम्म जम्मा एकहजार मेघावाटमा पनि पुगेको छैन । जलस्रोतमा विश्वकै धनि मुलुक भनेर गफ हांके पनि सही नीति र नेतृत्व नहुंदा देश अन्धकारमा बस्न बाध्य बनेको हो । अब, पुनः लोडसेडिङ हुनेछैन भन्ने ग्यारेन्टी प्राधिकरणले गरेको छ । प्राधिकरणले आफुसहित संलग्न अन्यकम्पनीहरुबाट विद्युत उत्पादन पनि तिब्र गतिमा हुन्छ भनेर जनतालाई आश्वास्त पार्ने गरी काम अघि बढाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्