काभ्रे, १ जेठ – सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले घुँडा टेक्छ कि भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले कांग्रेस नेता गगन थापालाई जवाफ दिँदै ओली सरकारको घुँडामा होइन, कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताए ।
सोमबार संसदमा बोल्दै थापाले भारतीय राष्ट्रपतिलाई स्वागत गर्दा घुँडा टेक्यो, घाउ लाग्यो भन्ने ओली सरकारको घुँडामा भ्वाङ पर्यो कि परेन भनि प्रश्न गरेका थिए ।
मंगलबार काभ्रेमा आयोजित कार्यक्रममा एमाले सांसद समेत रहेका सञ्चार राज्यमन्त्री बास्कोटाले भने, ‘७२ साल सम्झनुस् १ भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा ?’
केपी ओली सरकारले नाकाबन्दीलाई नाकाबन्दी भनेको भन्दै उनले ‘कांग्रेसका केही काजीहरुले नाकाबन्दीबारे केही बोल्न सक्नुभयो ?’ भन्ने प्रश्न समेत गरे ।
मोदीको स्वागतमा तामझाम गरेको भन्दै भइरहेको आलोचनाप्रति इंगित गर्दै उनले भने, ‘पाहुनालाई स्वागत र सकेकोे सम्मान गरिहाल्छौं । हामीले के ढुङ्गाले हान्नु पर्ने थियो र ?’ बास्कोटाले पार्टी एकता भइछाड्ने भन्दै पार्टी एकता हुँदैन भनेर खुर्सानीको धुप हाल्नुको कुनै तुक नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्