काठमाडौं, ७ जेठ । पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री रहेका सञ्जय साहको सम्पत्ति फुक्का गर्न विषेश अदालतले अस्विकार गरेको छ ।
विशेषका न्यायाधीशत्रय द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले मुद्दाको किनारा नलागेसम्म प्रतिवादीमध्ये कसैको नाममा रहेको सम्पत्ति फुक्का गर्न नमिल्ने भन्दै सो आदेश सुनाएको हो ।
साहकी श्रीमती र बाबुले गत शुक्रबार विशेष अदालतमा सम्पत्ति फुक्का गरिदिन माग गर्दै निवेदन दर्ता गराएका थिए।
उक्त निवेदनमा शुक्रबार सुनुवाइ गर्दै विशेषले मुद्दाको किनारा नभएसम्म फुक्का गर्न नमिल्ने भन्दै विशेषले अदालतमा प्रतिवादी बनाएका सबैको नाममा रहेको सम्पत्ति हाललाई निलम्बनकै अवस्थामा राख्नसमेत आदेश गरेको छ।
साहको घरव्यवहार मिलाउन बिक्री गर्ने प्रयोजनका लागि सम्पत्ति फुक्का गर्न भन्दै निवेदन दिएका थिए। तर विशेषले साहले आर्जन गरेको सम्पत्ति परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको दाबी गरेकाले फुक्का गर्न नमिल्ने तर्क गरेको छ।
पूर्वमन्त्री रहेका साह सम्पत्ति शुद्धीकरण, अकूत सम्पत्ति आर्जन, कर्तव्य ज्यान तथा अपहरण मुद्दामा जेलमा छन् ।
उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साहविरुद्ध ३२ करोड ४ लाख ५० हजार सम्पत्ति गैरकानुनी आर्जन गरेको दाबी गर्दै विशेषमा चैत १६ गते सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै विशेषले ५० लाख धरौटी माग गरेको थियो। धरौटी नबुझाउने भनेपछि उनलाई थुनामै पठाइएको थियो।
साहले विभिन्न गैरकानुनी गतिविधिबाट रकम आर्जन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐनविपरीत कार्य गरेको दाबी गर्दै अर्थ मन्त्रालय अन्तर्गत रहेका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। साहको सम्पत्ति शुद्धीकरण विभागले उनीसहित १३ जनालाई विपक्षी बनाएको थियो।
जनकपुर बमकाण्ड र सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य अभियुक्तको आरोपमा उनीमाथिको मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला थुनामा रहेका साहविरुद्ध अदालतमा विचाराधीन मुद्दाको संख्या नै तीन पुगेको छ।
प्रतिक्रिया दिनुहोस्