काठमाडौं, ७ जेठ । साङ्पा रिन्पोछेको जीवनमा आधारित पुस्तक अवतारको रुपमा मेरो जीवनयात्राको आज एक समारोहबीच लोकार्पण भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पुस्तकको विमोचन गर्नुभयो । अवतारी लामा साङ्पा रिन्पोछेको जीवनमा आधारित पुस्तकको विमोचन गर्दै मन्त्री तामाङले रिन्पोछेको जीवन अनुकरणीय रहेको बताउनुभयो । सरल, इमान्दार र शान्तिपूर्ण जीवनयापनका लागि रिन्पोछेको पुस्तकले महत्वपूर्ण योगदान दिने बताउँदै उहाँले थप सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा व्यवस्था समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ, हिमायन बौद्धविज्ञ डा. रमेश ढुंगेल, डा. जगमान गुरुङ, डा. प्रेमसिंह बस्न्यात, डा. गणेशमान गुरुङ लगायतले साङ्पा रिन्पोछेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
डोल्पामा जन्मनुभएका साङ्पा रिन्पोछेको प्रारम्भि शिक्षा पोखराबाट सुरु भएको थियो । भारतको बनारसीमा उच्च शिक्षा हासिल गर्नुभएका रिन्पोछेले विभिन्न गुम्बाको प्रमुख लामाको जिम्मेबारी समेत निर्वाह गर्दै आउनुभएको छ ।
पोखराको ज्याङछुप छोलिङ गुम्बाको पुनर्निर्माण तथा संरक्षण गर्दै आउनुभएकाउहाँले पोखराकै विक्रमशील बौद्ध अध्ययन केन्द्र, ङेदोन पल्बर लिङ ध्यान केन्द्र, मुस्ताङको थर्पा छ्योलिङ आनी गुम्बा, कीर्तिपुरस्थित काग्यूद बौद्ध अध्ययन केन्द्र र डुपग्यूद छोलिङ गुम्बा लुम्बिनीको निर्माण र संरक्षण गर्दै आउनुभएको छ । पछिल्लो समयमा पोखराको काहुडाँडामा निर्माणाधिन धर्मकाया बुद्धमण्डलाको प्रमुख संरक्षकको रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
उहाँ हाल कर्म काग्यूद बौद्ध केन्द्र सिंगापुरका प्रमुख गुरु तथा संरक्षक रहँदै आउनुभएको छ । देश विदेशमा बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा उहाँ समर्पित रहँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्