काठमाडौं, ११ जेठ । प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एनजिओको बहकावमा लागेर केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।
बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले दुई पार्टीको केन्द्रीय समिति मिलाउनु परेका कारण ३३ प्रतिशत नपुग्ने बताए।
‘कसैको बहकावमा लागेर जानुहुन्न’, ओलीले बैठकमा भने, ‘महिलाहरुलाई एनजिओहरुले ३३ प्रतिशत हुनुपर्छ अथवा यति प्रतिशत हुनुपर्छ भन्दिन सक्छन्। दुई वटा केन्द्रीय समिति मिलाउँदा ३३ प्रतिशत नभएको हुनसक्छ। हामीले धेरै छलफल गरेर गरेका छौँ। एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ। हामीले काम गर्नुपर्छ।’
ओलीले केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा पार्टी नेतृत्वमा छलफल भएको समेत बताए। ‘महाधिवेशन पछि कोर्स फरक हुन्छ’, ओलीको भनाई थियो।
हाल नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७७ मात्र महिला रहेका छन्। जुन १७ प्रतिशत हाराहारी हुन आउँछ। जबकी राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ। ‘हामीले थाहा नपाएर यो गरेका हैनौँ’, ‘हामीलाई सबै जानकारी छ। समयक्रममा मिलाउँछौँ ।’ एक नेताले भन्ने
बैठकमा प्रचण्डले भने केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा मौनता साँधेका थिए। बैठकमा सहभागिता अघि नै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई नागरिकताको प्रतिलिपी लिएर आउन निर्देशन दिइएको थियो। केन्द्रीय समिति बैठकको अधिकाशं समय केन्द्रीय सदस्यहरुले ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनेर नागरिकताको प्रतिलिपी हस्ताक्षर गर्न खर्चिएका थिए।
नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा बसेको बैठकमा सहभागि केन्द्रीय सदस्यहरु। बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले भ्रष्ट्राचार नगर्न हुन नदिन निर्देशन दिएको बताए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरु सत्तामा पुगेर स्खलित हुने चिन्ता ब्यक्त गरेका थिए। उनले पुल भत्काएर अगाडि बढेको कारण एकता सम्भव भएको उल्लेख गरेका थिए। ओलीले भने सत्ता जितेर बिग्रने छुट नरहेको बताएका थिए। ‘सत्ता सञ्चालनका कारण बिग्रने हो भन्यो भने त सबैतिर बिग्रन्छौँ’, ओलीले भने, ‘स्थानीय, प्रदेश, संघ सबै तिर बिग्रिन्छौँ। हामी त सबैतिर सरकारमा छौँ। त्यसैले गरेर देखाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस्