काठमाडौं,११ जेठ ।  सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खाेजेकाे आरोपमा पक्राउ परेका छन् ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार भएको हाम्रो ईकोनोमीमा खबर छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको पुष्टि गरे ।

झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।