काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जेठ ७ पछि आफूले पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको बताएका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुख नेम्वाङले भने , ‘सपना देख्नु राम्रो कुरा हो। आजकाल रेलको सपना देख्न थालेका छौं। पानी जहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।’
प्रतिप्रश्न गर्दै नेम्वाङले भने,’यस्तो सपना देख्नु अचम्म हो र ? राम्रो कुरा हो, बरु राम्रो सपनालाई व्यवहारमा उतार्न सबै मिलेर लागौं भन्ने आग्रह गर्न चाहन्छु।’
उनले छलफलमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भनेर सम्बोधन गरिएको शब्द संसदको रेकर्डबाट हटाउन पनि माग गरेका छन्। उक्त शब्द संसदीय मर्यादाविपरीत रहेकोले हटाउन माग गर्दै उनले भने, ‘महारानी शब्द के अर्थमा भनियो त्यो संसदको रेकर्डबाट हटाउन माग गर्दछु।’
बिहीबारको छलफलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई महारानी बनाउने प्रयास भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्