‘मानव विकास सूचकांकको आधारमा सबैभन्दा पछाडि रहेको प्रदेशको नामसमेत त्यही अनुसार हेपिएको जस्तो भयो’ शुक्रबार जनकपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै फोरम अध्यक्ष यादवले भने, ‘धेरै भयो, अब प्रदेशको नामाकरण गर्न ढिलाई नगर्नुस् ।’ उनले प्रदेशको नामाकरण गर्न आजै (शुक्रबार) बाट औपचारिक छलफल सुरु गर्न पनि प्रदेशसभालाई आग्रह गरे ।
प्रदेश नम्बर दुईको सफलतामा गणतान्त्रिक नेपालको भविष्य निर्भर रहेको उल्लेख गर्दै यादवले पूर्वी र पश्चिमी मधेशसँगै पहाडका जनजातिपनि यसै प्रदेश (प्रदेश नम्बर दुई) को मुख ताकेर बसेको बताए । ‘लामो संघर्षपछि प्राप्त भएको संघीयतालाई कार्यान्वयन गर्ने क्रममा आठ जिल्लालाई गाभेर प्रदेश दुई कायम गरिएको छ’ उनले थपे, ‘पश्चिम र पूर्वी मधेशका बासिन्दा अहिले पनि विभेदको सिकार भइरहेका छन् । यो प्रदेश सफल भए उहाँहरुले पनि सम्मानित भएको अनुभूति गर्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्