रौतहट १२ जेठ । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय सुरक्षाकर्मीसहितको एक समूहलाई रौतहटका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
बाराको कलैया १७ निवासी महेश प्रसाद यादवलाई जबर्जस्ती गाडीमा राखेर लैजान खोज्दा नेपाली सुरक्षाकर्मीले गौर भन्सार बेरिएरबाट भारतीय टोलीलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा भारतको बैरगनिया थाना प्रभारी सुजित कुमार, अक्षेवर खान, मिथलेश कुमार मिश्रा र महमद खान लगायत छन् ।
काठमाडौंस्थित एक गार्मेन्टमा काम गर्ने बिहार सितामढीको पचटकी निवासी ओहिद मन्सुरीका छोरा साबिन र उनको साथी मुमताज अहमदको पहलमा भारतीय सुरक्षाकर्मीको टोली यादवलाई लिन नेपाल आएको बताइएको छ ।
भारतीयको समूहले नेपाली नागरिक यादवलाई जबर्जस्ती गाडीमा हालेर फर्किन थालेपछि भन्सार सुरक्षा चेक प्वाइन्टमा तैनाथ नेपाली सुरक्षाकर्मीले गाडीसहित सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भारतीय सुरक्षाकर्मीसहितको टोली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।
‘विषय रकम लेनदेनको रहेछ । भारतीय सुरक्षाकर्मीहरु हामीसँग कोअर्डिनेसन गरेर आउनुपर्थ्यो तर सीधै आए,’ प्रजिअ रिजालले भने, भारतीयलाई झुक्याएर बोलाएको हो कि उनीहरुको नियत नै अपहरण गर्ने हो त्यो कुरा बुझ्दै छौं ।’
स्रोतका अनुसार ओहिद मन्सुरीले एक कामको लागि भन्दै यादवसँग चार लाख रुपैयाँ लिएका थिए । तर उनी काममा आएनन् र सो रकम फिर्ता गर्न यादवले भन्दै आएका थिए । सोही रकम फिर्ता दिन भन्दै ओहिदको छोरा साबिन मन्सुरीले महेशलाई गौर बोलाएका थिए । गौर भन्सार नजिकैको एक होटलमा सँगै खाजा खाएपछि साबिनले फोन गरेर बैरगनिया थाना प्रभारीसहितको टोलीलाई गौर बोलाएका थिए ।
फोन गरेलगत्तै आएको भारतीय टोलीले यादवलाई गाडीमा जबरजस्ती राखेर भारततर्फ नै फर्किन लागेको थियो । शंका लागेपछि नेपाली सुरक्षाकर्मीले रोकेर सोधपुछ गरेका थिए ।
घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव नेतृत्वको टोलीले गाडीसहित भारतीय टोली र नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय गौरमा लगेका छन् ।
प्रतिक्रिया दिनुहोस्