काठमाडौं, १३ जेठ । उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।
अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब यो समस्या अन्त्य हुँदै छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो।
काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डरपास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘कलंकी क्षेत्र वर्षौंदेखि अस्तव्यस्त र भद्रगोल देखिन्थ्यो । अहिले अन्डरपासले यस क्षेत्रको सवारी जाम हट्नेछ,’ उनले भने, ‘कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ । बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ ।असारदेखि अन्डरपासबाट सवारीसाधन गुड्नेछ ।’ अन्डरपास बनेसँगै चक्रपथ रुटका सवारी निर्बाध ढंगले चल्न सक्नेछन् । बल्खुको खसीबजारदेखि बाफलसम्म आठ सय ४० मिटर क्षेत्रफलमा अन्डरपास निर्माण भइरहेको योजनाले जनाएको छ।
बल्खु–स्वयम्भू चल्ने सवारीसाधन अन्डरपास भएर गुड्नेछ । त्यस्तै, त्रिपुरेश्वरबाट नागढुंगातर्फ जाने, नागढुंगाबाट बल्खु र कालीमाटीतर्फ चल्ने सवारीले साबिकको माथिल्लो सडककै प्रयोग गर्नुपर्नेछ । ‘अहिले कलंकीमा सवारी पास हुन एकतर्फको सडक नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अन्डरपास बनेसँगै बल्खुबाट स्वयम्भूतर्फ जाने सवारीसाधन रोकिनु नै पर्दैन ।’ चक्रपथ सडक सुधार योजनाले अन्डरपास बनेसँगै कलंकी क्षेत्रको ट्राफिक जाम हट्ने जनाएको छ । चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो।
कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ ।
प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार पारिएको योजना प्रमुख भण्डारीले बताए । कामनपा– १४ स्थित कलंकीको मुख्य चोकमा निर्माणाधीन यो अन्डरपास सडक नेपालकै पहिलो प्राजेक्ट हो । पैदलयात्रु भने अन्डरपासबाट हिँडडुल गर्न पाउनेछैनन् । उनीहरूलाई सडक पार गर्न जेब्राक्रस राखिनेछ । चीन सरकारको ५१.२ करोड युआन (करिब ५ अर्ब रुपैयाँ) मा अन्डरपास निर्माण गर्न लागिएको हो । अन्डरपास निर्माणसँगै कलंकीमा सवारी जाम हट्ने मात्रै होइन, कलंकीकै रूप फेरिने बताइएको छ
प्रतिक्रिया दिनुहोस्