काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ। यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो ।
२०७४ साल फागुन तीन गते बनेको नयाँ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडि बढेको, उच्चस्तरको आर्थिक वृद्धिदर हासिल गरेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानुन निर्माण, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको लगायतका उपलब्धि समावेश गरेको छ ।
सरकारको फागुन ३ गतेको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रत्येक प्रदेशका सदरमुकाममा अत्याधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
त्यस्तै यसबीचमा बसेका मन्त्रिपरिषद्का बैठकले नियुक्ति, सिफारिस सम्बन्धी निर्णयहरू बढी गरेका छन् । त्यस्तै मन्त्रिपरिषद्ले ४ वटा अध्यादेशहरु जारी गरेको थियो ।
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन गर्न बनेको अध्यादेश २०७५, वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ लगायतका अध्यादेश स्वीकृत भएका छन् ।
यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्