सप्तरी, १७ जेठ । बर्षेनी बाढी र डुवानबाट ठुलो मानविय र धनमालको क्षति पु-याउने सप्तरीको खाँडो नदी नियन्त्रणका लागि बाँध निर्माण कार्य सुरु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले १ करोड रुँपैया लगानीमा खाँडो नदीको बाँध निर्माण कार्य सुरु गरेको हो ।
खाडो नदी नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखेर विभिन्न शिर्षकबाट केही केही रकम कटौती गरी १ करोड रुपैया बाँध निर्माण कार्यमा लगानी गरिएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
बाँध निर्माणका लागि दैनिक आधा दर्जन प्राविधिक र सयौ मजदुरद्वारा काम भईरहेको छ । उच्च जोखिममा रहेको तथा बाढीले भत्काउन सक्ने सम्भावित स्थानमा माटोसँगै तारजाली, बोरा र बोल्डरको पनि प्रयोग गरिदै गएको अध्यक्ष सिंहले बताए ।
यता पछिल्लो पटक बाँध निर्माणको कामले गति लिएपछि अहिले स्थानियबासी निकै खुसी देखिएका छन् । विगत ३० वर्ष देखि बर्षेनी खाडो नदीको उत्पातका कारण स्थानियबासी प्रताडित हुँदै आएकोमा बल्ल बाँध निर्माण कार्यले गतिलिएपछि धेरै खुसी भएको स्थानिय कारी मुखियाले बताए ।
पछिल्लो पटक गत अषाढ र साउन महिनामा खाडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र आसपासको क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांक अनुसार खाडो नदीको बाढीले तिलाठी कोईलाडी गाउँपालिकामा मात्रै १४ करोड ६४ लाख बराबरको सम्पती नष्ट भएको थियो ।
यस्तै बाढीले बगाएर सो गाउँपालिकामा १ बालकको मृत्यु र ३ सय ५१ परिवारलाई विस्थापित बनाएको थियो । खाडो नदीको बाढीकै कारण सदरमुकाम राजविराजमा पनि २ जनाको ज्यान जानुका साथै २८ करोड २७ लाख ५१ हजारको धनमाल क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।
विगतमा बजेटको अभाव र स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा खाडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्