काठमाडौँ, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई केन्द्रीय कारागार सुन्धाराको गोलघर चलान गरिएको छ ।
गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ जुन विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ । यही गोलघरमा रहेको एउटा कोठामा गोरेलाई राखिनेछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले थप अनुसन्धानका लागि सोमबार काठमाडौं ल्याइएका गोरेको सुरक्षालाई ध्यानमा राख्दै गोलघर चलान गरिएको स्रोतले जनाएको छ ।
मोरङ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि मोरङ जिल्ला कारागारमा रहेका उनलाई काठमाडौं ल्याइए लगत्तै गोलघर पठाइएको हो । कारागार स्रोतका अनुसार गृहमन्त्रालयको निर्देशनमा उनको सुरक्षाका लागि गोलघर छानिएको हो ।
सोमबार गोरेसहित भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ वाङगेल घले (गुरुङ) लाई ल्याइएको छ । तीनै जनालाई अलग–अलग स्थानमा राखिने कारागार स्रोतले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्