काठमाडौं, ३ असार । नेपालस्थित भारतीय दूताबासले मुस्ताङको मुक्तिनाथमा योगा क्याम्प सञ्चालन गरेको छ ।
चौथो अन्तराष्ट्रिय योगा दिवसको अवसरमा दूताबासले १२ हजार ५०० फिट उचाईमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमै योगा क्याम्प सञ्चालन गरेको हो ।
योगा क्याम्पमा त्यहाँका भिक्षुका साथै स्थानीयको उल्लेख्य संख्यामा सहभागिता रहेको दूताबासले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेर फर्किएको एक महिनापछि भारतीय दूताबासले योगा क्याम्प सञ्चालन गरेको हो । मोदीले नेपाल भ्रमणको क्रममा गत बैशाख २९ गते मुक्तिनाथको दर्शन गरेका थिए ।
मोदीको सुरक्षामा आएको भारतीय सेनाको हेलिकप्टर लामो समय मुस्ताङ बसेको भनेर आलोचना समेत भएको थियो ।
सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो । गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्