झापा,९ मङसिर । नक्कली अन्त शुल्क स्टीकर टाँस गरी राजश्व छल्ने विभिन्न ब्राण्डका मदिरा (रक्सी) बरामद गरी आइतबार नष्ट गरिएको छ ।
झापाको भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेचीले ३६ कार्टुन अर्थात करिब दुई लाख मुल्य बराबरको मदिरा बरामद गरी नष्ट गरिएको प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए ।
बजारमा बिक्रीवितरण भइरहेका शिल बन्दी भएकै मदिराले राजश्व छलिरहेको गोप्य सूचनाको आधारमा आन्तरिक राजश्व कार्यालय मेचीबाट खटिएका अनुगमन टोलीले विभिन्न मितिमा मदिरा बिक्रीवितरण गर्ने फर्म र उद्योगबाट उक्त मुल्य बराबरको मदिरा बरामद गरेको हो ।
आन्तरिक राजश्व कार्यालयका अनुसार दृष्टि इन्टरप्राइजेजले नक्कली अन्तशुल्क स्टीकर टाँस गरी बिक्री वितरणका लागि राखिएका पाँच कार्टुन अनमोल फ्रेण्ड र चार कार्टुन बटालिय ट्रिप्ल एक्स नामको मदिरा २०७५ जेठ १३ गते अनुमगन टोलीले बरामद गरेको थियो ।
त्यस्तै अनुगमन टोलीले कोल्ड टे«ड सेन्टरबाट १८० एमएल ५० यु.पि.शक्तिको ब्लु अफर ३६ बोतल र थापा ब्रदर्श सप्लायर्सको गोदामबाट योनेक्स नाम गरेको १८० एमएल ५० यु.पि. शक्तिको १५ काुर्टन मदिरा बरामद गरेको थियो ।
भोलेबाबा लिकर्स उद्योगबाट सि-यु ब्राण्डको ५० यु.पि. शक्तिको ५२८ बोतल मदिरा बरामद गरेको प्रमुख कर अधिकृत आचार्यले बताए । राजश्व छल्ने फर्म र उद्योगका सञ्चालकलाई पक्राउ गरी कानुन बमोजिम कारवाही भएपछि बरामद गरिएको मदिरालाई पनि आवश्यक कानुनी प्रक्रिया मिलाएर नष्ट गरिएको आचार्यको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्