एजेन्सी,९ पुस । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ ।
भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।
फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।
पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गर्नुभएको छ । उहाँले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आउनु भएको छ ।
सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।
पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उहाँलाई अदालतले १५ लाख पाकिस्तानी रूपैँया जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्