काठमाडौं,११ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ ।
नेपाली काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको हो ।
बुधबार संघीय संसदको हिउँदे अधिवेशन सुरु केहीबेर अघि सम्पन्न काँग्रेस संसदीय दलको बैठकले जन सरोकारको विषयलाई लिएर सरकारविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी संघीय संसदमा कुरो उठाउने निर्णय गरेको हो ।
सरकारले जनविरोधी काम गरिरहेकाले त्यसविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी सदनमा कुरा उठाउने निर्णय गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनु भयो ।
बैठकले सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि आपत्ति जनाएको छ । त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको काँग्रेसको आरोप छ ।
संघीय संसदको हिउँदे अधिवेशनमा यिनै विषय उठान गरेर जनसरोकारको विषयलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने पनि प्रमुख सचेतक खाँडले जानकारी दिनु भयो । राष्ट्रियता, लोकतन्त्रको संरक्षणका लागि सरकारविरुद्ध जस्तासुकै कदम चाल्न पनि पार्टी बाध्य हुने काँग्रेस संसदीय दलको बैठकको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्