काठमाडौं,१९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भएको छ ।
नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले सो आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नु भयो ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जिएमआर कम्पनीले सो आयोजनाको काम अघि बढाउन ठेक्का पाएपनि सो सम्झौता अनुसार काम गराउने काममा सरकार गैरजिम्मेवार भएको आरोप पनि लगाउनु भयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला सो सम्झौता अघि बढाउन प्रतिवद्धता जनाएको भएपनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ ।
नेता रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्झौंता गरिएको ६८ महिना १५ दिन वित्दा पनि सो सम्झौंतामा उल्लेख गरिएको सर्त अनुसार जिएमआर कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न पनि सरकारसँग माग गर्नु भयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता रावलले जिएमआर कम्पनीसँग गरिएको सम्झौता अनुसार सो आयोजनाको वित्तिय व्यवस्थापन गर्न ढिलाई गरेकोमा पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
९ सय मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जिएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौंता कार्यान्वयनमा नआएपछि सत्तारुढ नेकपाका नेता रावलले असन्तुष्टि जनाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्